रुपनी जि एम, बाँके । बाँके जिल्लाका आठवटै पालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा बजेटको ठूलो हिस्सा विनियोजन गरेका छन् । आर्थिक वर्ष २०८०र८१ का लागि नीति तथा कार्यक्रमसँगै सबै पालिकाको कूल बजेट छ अर्ब ५३ करोड १७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
आठ पालिकारहेको यस जिल्लामा एक नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका तथा छ वटा गाउँपालिका रहेका छन । नेपालगञ्ज उपमहानगरपालिकाले अन्य क्षेत्रमा जस्तै स्वास्थ्यमा प्राथमिकता दिएको देखिन्छ भने कोहलपुर नगरपालिकाको शिक्षामा जोड दिएको पाइन्छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले चालु आवकोभन्दा बढी बजेट प्रस्ताव गरेको छ । उक्त पालिकाले एक अर्व ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको उपप्रमुख कमरुद्दिन राईले बताए ।
उनका अनुसार आगामी आवमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ । उपप्रमुख राईका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले आन्तरिक आय १८ करोड र राजश्वरअनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको छ ।
कूल आम्दानीको अधिकांश भार संघीय सरकार र प्रदेश सरकारहरुबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने नगर प्रमुख प्रशान्त विष्टले बताए ।
नीति तथा कार्यक्रममा विद्यालयहरुलाई सूचना प्रविधिमैत्री, गुणस्तरीय शिक्षा, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच वर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहा नाकामा हेल्थडेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्नेलगायतका कार्यक्रमहरु रहेका छन् ।
कोहलपुर नगरपालिकाले आव २०८०र८१ का लागि एक अर्ब सात करोड ७४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधारको विकास, शिक्षकलाई प्रविधिमैत्री सीप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाइ आदानप्रदान, ‘विद्यार्थीसँग अग्रज’ कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए ।
शिक्षकको क्षमता अभिवृद्धि गर्न र पेशाप्रति सकारात्मक बनाउन ‘म जिम्मेवार शिक्षक’ अभियान सञ्चालन गर्ने नीति अघि सारिएको उनले जानकारी दिए ।त्यसैगरी १३औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख आचार्यले सामुदायिक विद्यालयमा जस्ताका छाना विस्थापन गर्ने नीति अघि सारेको, नगरभित्र सञ्चालित एक सामुदायिक विद्यालयलाई आवासिय विद्यालयको रुपमा विकास गर्ने लक्ष्य राखिएको बताए ।
जिल्लाको राप्ती सोनारी गाउँपालिकाले आव २०८०र८१ का लागि ८० करोड ९१ लाख २८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले विभिन्न शिर्षकमा खर्च गर्ने गरी उक्त बजेट गाउँसभामा पेश गरेकी हुन । गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, पर्यटन, सामाजिक विकासलगायतलाई जोड दिएको छ ।
त्यस्तै नरैनापुर गाउँपालिकाको बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई मुख्य प्राथमिकतामा राखी आव २०८०,८१ का लागि ४८ करोड ६२ लाख रुपैयाँको अनुमानित बजेट विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले खस्कँदै गरेको शैक्षिक गुणस्तरलाई उकास्नेगरी सामुदायिक विद्यालयले प्रदान गर्दै शिक्षालाई प्राथमिकतामा राखिएको बताए ।
यसैगरी डुडुवा गाउँपालिकाले आव २०८०र८१ का लागि प्रस्ताव गरेको ४८ करोड ८४ लाख ३४ हजार शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद् व्यवस्थापन, वन तथा वातावरण, विकास निर्माणमा खर्च गर्ने गरी नीति तथा कार्यक्रम तय गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार वडा नं(४ पालिकाले डुडुवा गाउँपालिका(४ शाहपूर्वामा १५ शय्याको गाउँपालिकास्तरीय अस्पताल निर्माण, बेतहनी स्वास्थ्य चौकीमा चिकित्सक सहितको जेष्ठ नागरिक अस्पताल, बालउद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, वनभोजस्थलको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा र्याफ्टिङ सञ्चालन, मठमन्दिर, गुम्बा, चर्च, मस्जिद एवम् गुरुद्वाराको संरक्षण, राप्ती नदी किनारमा स्नान घर र आर्यघाट व्यवस्थित रूपमा सञ्चालन जस्ता पूर्वाधारमा जोड दिइएको छ ।
बैजनाथ गाउँपालिकाले आव २०८०, ८१ का लागि ६९ करोड ९९ लाख ३५ हजार नौँ सय ७५ को बजेट प्रस्ताव गरेको छ । पालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार विनियोजित रकमबाट भौतिक पूर्वाधारतर्फ छ करोड ९६ लाख, थप बथिङ्ग सेन्टरमा एम्बुलेन्स सेवा सुरु गर्न १२ लाख, बर्थिङ्ग सेन्टरमै शिशु जन्माउने सुत्केरी तथा नवजात शिशुलाई उपलब्ध गराउँदै आएको एक हजारबाट बढाएर २५ सय पोषण प्रोत्साहन भत्ता पुर्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
खजुरा गाउँपालिकाले आव २०८०र८१ का लागि ८३ करोड ३९ लाख ५३ हजार ६५८ रुपैयाँ बजेट प्रस्ताव गरेको छ । प्रस्तुत बजेटबाट खानेपानी तथा सरसफाईतर्फ १६ लाख, कला संस्कृतितर्फ १२ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ २५ लाख, सामाजिक सुरक्षातर्फ पाँच लाख, युवा तथा खेलकुदतर्फ ४० लाख र आयुर्वेद सेवालाई १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष डम्बरबहादुर विक (तुफान) ले जानकारी दिए ।
त्यसैगरी आर्थिक विकासतर्फ तीन करोड १४ लाख ६० हजार, कृषि तथा सिँचाइतर्फ एक करोड १२ लाख, लघुउद्यमतर्फ १६ लाख, पर्यटन क्षेत्रतर्फ एक करोड, सहकारी तथा वित्तीय क्षेत्रतर्फ ११ लाख ३६ हजार ५६०, पशुपंक्षी विकासतर्फ ५६ लाख, भूमिसम्बन्धी समस्या समाधान गर्न २५ लाख र पूर्वाधारतर्फ दुई करोड ६४ लाख विनियोजन गरिएको छ ।
यस्तै जानकी गाउँपालिकाले आव २०८०र८१ का लागि ४६ करोड १० लाख ८९ हजार छ सय १६ रुपैयाँको बजेट ल्याउँदा शिक्षामा मात्रै १४ करोड ७४ लाख विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँले स्वास्थ्यतर्फ पाँच करोड ५८ लाख, सामाजिक विकासतर्फ २० करोड ४७ लाख, आर्थिक विकासतर्फ एक करोड ६९ लाख ५० हजार विनियोजन गरिएको जानकारी दिए ।






