बाँके । बाँकेको नेपालगञ्ज स्थित धम्बोझीमा सुविधा सम्पन्न ब्याडमिन्टन प्रशिक्षण केन्द्रको निर्माण गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालका अनुसार उक्त प्रशिक्षण केन्द्रको निर्माण १ करोड १५ लाखको लागतमा बनेको हो ।
वडा अध्यक्ष रिजालले नेपालगञ्जको धम्बोझीलाई खेलकुदको हब बनाउने गरि स्पोर्टस एकेडेमीसँगै ब्याडमिन्टन प्रशिक्षण केन्द्रको निर्माण गरिएको बताउनुभयो । पुर्व मन्त्री मोहम्मद इस्तियाक राई र नगर प्रमुख प्रशान्त विष्टले ब्याडमिन्टन प्रशिक्षण केन्द्रको सोमबार उद्घाटन गर्नुभयो ।
पुर्व मन्त्री राईले विकास निर्माणमा हातेमालो गर्न आग्रह गर्दै विगतमा समावेश भएका योजना मध्ये केही फिर्ता लैजान खोजिएको भन्दै त्यसलाई रोक्न लाग्नुपर्ने बताउनुभयो । उहाँले वडा अध्यक्ष रिजालले असल जनप्रतिनिधीको रुपमा सक्रियता देखाएको बताउनुभयो ।
यसैबीच वडा कार्यालयको आयोजनामा नवनिर्मित ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा भेट्रान खुला प्रतियोगिता शुरु भएको छ । सोही अवसरमा धम्बोझीका स्थायी बासिन्दा पुर्व खेलाडीहरुको सम्मान गरिएको छ । तस्बिर 












