बाँके । बाँकेलाई आज पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले आज (बिहीबार) नेपालगन्जमा एक कार्यक्रमकाबीच बाँकेलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नुभएको हो ।
जिल्लाका आठवटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो । खोपै नलगाएका एक सय नब्बे बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ५१७ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
डुडुवालाई बैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलार्य ३१, नेपालगन्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो । शिशुको वृद्धि विकास आमाको गर्भदेखि नै सुरु हुन्छ। जन्मपछि शिशुको शारीरिक र मानसिक दुवैको विकास अन्यन्तै महत्वपूर्ण हुन्छ । बालबालिकालाई स्वस्थ राख्न, अपांगताबाट बचाउन र मृत्यु हुन नदिन खोप अनिवार्य छ ।
खोपले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । विभिन्न रोग तथा संक्रमण विरुद्ध लड्नका लागि खोपले शरीरमा शक्ति प्रदान गर्छ । बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले खोप अनिवार्य रुपमा लगाउनुपर्छ । नेपालमा सरकारले १३ प्रकारका खोपहरु निःशुल्क रुपमा उपलब्ध गराउँछ । यी अधिकांश खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ ।






