रुपनी जि एम, बाँके । ‘केही पुराना योजनाहरु पुरा गर्न सकेनौं । तर बनाईएका नयाँ योजनाहरु सबै कार्यान्वयन गर्न सफल भएका छौं ।’ यो भनाई हो बाँकेको खजुरा गाउँपालिका अध्यक्ष डम्मर वि.क (तुफान) को । जनप्रतिनीधि भए पछिको एक वर्षे कार्यकाल सकिनै लाग्दा अध्यक्ष वि.कले गाउँपालिकाले ठेकेदार र व्यावसायिले गरेको असहयोगका कारण पुराना योजनाहरु सम्पन्न गर्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हामी भन्दा पहिलाका जनप्रतिनीधिले बनाएका योजनालाई कार्यान्वयन गर्न भनेर ठेकेदार र व्यावसायिलाई बोलाउँदा उहाँहरु नआई दिने । आएकाहरुले काम गरेको जस्तो मात्र गरिदिने तर पुर्ण काम नगरिदिने । जसोतसो काम गरिसकेपछि बिल फच्र्योट गर्न नआउने ।’ अध्यक्ष वि.कका अनुसार काम गर्न खोज्दा पनि काम गर्ने वातावरण नभएकै कारण पुराना योजनाहरु सम्पन्न नभएका हुन् । ती ठूला र पुराना योजनाहरु सम्पन्न हुुन नसक्दा पैसा त्यत्तिकै रोकिएको अध्यक्ष वि.कले बताउनुभयो ।
पुराना योजना मध्यका सभागृह र शितभण्डार जस्ता दुई ठूला योजना भने कार्यान्वयनको अन्तिम चरणमा रहेको अध्यक्ष वि.कले जानकारी दिनुभयो । यस्का साथै पालिकाको प्रशासनिक भवन बन्न नसकेकोमा पालिका प्रमुखका नाताले आफु दुखी भएको उहाँले बताउनुभयो । विकासे योजनामा ठेकेदारलाई ताकेता गर्दापनि सहयोग नगरेको उहाँले गुनासो गर्नुभयो । एक वर्षे कार्यकालको अनुभवमा अध्यक्ष वि.कले पहिलो पटक जनप्रतिनीधि भएर काम गर्दा कामको चाँजोपाँजो मिलाउन नसकेर योजनाहरु कार्यान्वयन हुन नसेकेको बताउनुभयो ।
पालिकाले सम्पन्न गरेका नायाँ योजना
०७९ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भएर गाउँपालिकाको कार्यभार सम्हाल्नु भएका अध्यक्ष वि.कले आफ्नो कार्यसमितिले बनाएका नयाँ योजनालाई सफलता पुर्वक सम्पन्न गरेको बताउनुभयो । उक्त नयाँ कार्ययोजना अन्तर्गत पालिकाले अनाथ बालबालिकालाई वडा नं. २ स्थित के गाउँमा बस्नका लागि भवन निर्माण गरेको छ । त्यसैगरी वडा नं. ४ को प्रशासनिक भवन निमार्ण सम्पन्न गरेको छ । अध्यक्ष वि.कका अनुसार कोसेली घरको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।
खजुरा गाउँपालिका वडा नं. १ स्थित न्याउली डाँडाको सडकलाई कालो पत्रे बनाईएको पालिका अध्यक्ष वि.कले बताउनुभयो । त्यसैगरी वडा नं. २ स्थित गौघाटमा रहेको सडकलाई पनि कालोपत्रे गराउन सफल भएको लगाएत पालिका भित्रका धेरै सडकहरु कालो पत्रे बनाएर केही विकासे काममा फड्को मारेको उहाँको भनाई छ । सम्पन्न गरिएका नयाँ योजना अन्तर्गत कृषिको सिंचाई योजना पनि पुरा भएको उहाँले बताउनुभयो । त्यसैगरी शैक्षिक क्षेत्र तर्फ प्रअ मिलान पनि गरिएको उहाँले बताउनुभयो ।
नयाँ आर्थिक वर्षको भदौदेखि लुम्बिनी प्राविधिक विश्व विद्यालय खजुराको कक्षा सञ्चालनमा ल्याउन लागिएको विषयमा छलफल चलि रहेको उहाँले बताउनुभयो । एक वर्षे कार्यकालमा ६३ प्रतिशत बजेट खर्च भएको उक्त पालिकामा पुराना ठूला योजना कार्यान्वयन नहुँदा समस्या भएको उहाँले बताउनुभयो । ‘थोरै बजेटमा निमार्ण सम्पन्न हुन सक्ने योजनाहरुमा खासै बाधा आएनन् । तर पुराना योजनामा धेरै बजेट छुट्टयाईएको र तिनै ठूला योजनाहरु सम्पन्न गर्न खोज्दा चौतर्फी बाधा भएको हुनाले नै पालिकाले आर्थिक भार खेप्न परेको हो ।’
नयाँ नीति तथा कार्यक्रम
गाउँपालिकाको रुपमा रहेर खजुरा बासीलाई सेवा प्रदान गर्दै आई रहेको उक्त खजुरा गाउँपालिकालाई नगरपालिका बनाउने योजना रहेको अध्यक्ष वि.कले जानकारी दिनुभयो । नगरपालिका बनाउनका लागि भौतिक पुर्वाधारहरु निमार्ण गर्नु पर्ने हुनाले आफुहरुले बसपार्क, पर्यटक स्थल, सहीदपार्क, फोहर व्यवस्थापन, कान्ति ताल, विद्युत, शिक्षा, स्वास्थ्य लगाएतका भौतिक संरचनाहरुको आधारलाई निमार्ण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष वि.कले जानकारी दिनुभयो । कान्ति ताललाई व्यवस्थापन गरेसँगै उक्त स्थानमा रहेका मुक्त कमैंयालाई पनि होम स्टे सञ्चालनका लागि सहयोग गर्ने अध्यक्ष वि.कले बताउनुुभयो ।
त्यसैगरी आगामि योजनामा कृषिको विषयलाई प्राथामिकतामा राखिएको उहाँले बताउनुभयो । ‘विभिन्न संकलत केन्द्रहरु निमार्ण गर्ने, उत्पादनमा आधिरित अनुदान दिने, विशिष्टिकृत सहकारी निमार्ण गरेर शित भण्डार सञ्चालन गर्ने, कृषि समूहरुसंग सहकार्य गरेर कृषि उद्योग खोल्ने योजना रहेको छ ।’ उहाँले भन्नुभयो,‘पालिका भित्र शिक्षामा कम्जोर भएका विद्यार्थीहरुलाई एक्ट्रा कोचिंग कक्षा सञ्चालन गर्न सहयोग गर्नुका साथै आर्थिक अवस्था कम्जोर भएर बीचैमा पढाई छोडेका विद्यार्थीको पढाई पुरा गर्ने जिम्मेवारी पालिकाले बहोर्ने छ ।’
अबको दुई वर्षमा खानेपानी प्रत्येक जनताको घरमा पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो,‘खानेपानीका लागि सबै काम पुरा भएको छ । गाउँपालिकाबाट रोजगारको श्रृजना गरेर पालिकामा बेरोजगारको वातावरण हटाउने योजना छ ।’ हुलाकी राजमार्ग अन्तर्गत बन्दै गरेको चार लेनको बाटोले पनि खजुरा पालिकाको विकासलाई सहयोग पुग्ने अध्यक्ष वि.कले विश्वास व्यक्त गर्नुभयो ।






