रुपनी जि एम, बाँके । वि.सं. २०५५ सालमा स्थापना भएर द्धन्द्धकालको चपेटामा पर्दा समेत निरन्तर सेवा प्रदान गरेर अहिले लुम्बिनी मात्र नभई कर्णाली र सुदुर पश्चिमका सबै प्रहरी परीवारका बिरामीलाई सेवा दिंदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल ओझेलमा परेको छ । प्रदेश अन्तगर्तका बिरमी प्रहरी कर्मचारीहरुसँगै उनीहरुका परिवार र भूपु प्रहरीहरुलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आईरहेता पनि अस्पतालमा सम्बन्धित निकायको ध्यान जान नसकेकै कारण लुम्बिनी प्रदेश प्रहरी अस्पताल ओझेलमा परेको अस्पतालका मेडिकल डाईरेक्टर एवं प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर अमिन कुमार श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार प्रदेश भरीका कुनै पनि प्रहरी कर्मचारी बिरामी हुँदा सिधै काठमाण्डौ गएर उपचार गराउन नपाउने व्यवस्था रहेको छ । गम्भिर प्रकृतिका बिरामी जस्को उपचार उक्त अस्पतालमा सम्भव नभएको अवस्थामा मात्र काठमाण्डौ रेफर गरिने अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर श्रेष्ठले बताउनुभयो । डा. श्रेष्ठका अनुसार उक्त अस्पतालमा लामो समयदेखि विशेषज्ञ सहीतको टोलीले बिरामीको उपचार गर्दै आईरहेको छ ।
कर्णाली प्रदेशमा प्रहरी अस्पताल स्थापना नभई सकेको हुनाले उक्त प्रदेशका सबै बिरामी परेका प्रहरी कर्मचारीहरु रमाना लिएर यसै लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल डाईरेक्टर श्रेष्ठले बताउनुभयो । ‘यो अस्पतालले लुम्बिनी प्रदेश भरीका बिरामी प्रहरी र उनका परिवारलाई मात्र उपचार गर्दैन । यहाँ कर्णालीका समेत बिरमी प्रहरीहरु उपचारका लागि आउनु हुन्छ ।’ उहाँले भन्नुभयो,‘कर्णाली प्रदेशमा अझैं अस्पताल स्थापना भई सकेको छैन । त्यसैले उता सबै विरामी प्रहरीहरु रमाना बुझेर यही आएर उपचार गराउनुहुन्छ ।’
लुम्बिनी प्रदेशलाई लक्षित गरी १५ शैयामा बनाइएको उक्त अस्प्तालले अहिले कर्णाली र सुदुरपश्चिमका समेत प्रहरी र उनीहरुको विरामी परिवारलाई उपचार गर्दै आईरकेको डा. श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तीन प्रदेशका बिरामीलाई उपचार गराउनु पर्दा १५ शैयाले थेग्न सकिरहेको छैन । अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक समेत रहनु भएका डाक्टर श्रेष्ठले बिरामीको चापलाई हेरेर अस्पताललाई ५० शैयाको बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘तीन प्रदेशका बिरामीलाई १५ शैयामा उपचार गराउन निकै गाह्रो छ । यस्लाई ५० शैयाको बनाउन सकियो भने उपचारमा सहजता हुनेछ ।’
बिरामीको चापलाई मध्य नजर गर्दै उक्त अस्पतललाई ५० शैया बनाउनका लागि नेपाल प्रहरी अस्पताल केन्द्रिय कार्यालय महारजगञ्ज काठमाण्डौ र प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौमा समेत पत्राचार गरिसकिएको डा. श्रेष्ठले बतानउनुभयो । ‘यस अस्पताललाई ५० शैयाको बनाउनु पर्ने माग दाबी गर्दै हामीले हाम्रा केन्द्रिय कार्यालयहरुमा पत्राचार समेत गरी सकेका छौं । आशा छ हाम्रो माग चाँडै न पुरा हुुनेछ ।’ डा. श्रेष्ठको भनाई अनुसार उक्त अस्पताललाई तीन वटै प्रदेशको ‘हब’ बनाउन सकियो भने त्यो निकै नै प्रभावकारी हुुनेछ ।
अस्पताल भित्रका प्रहरी विभागका प्रहरी डाक्टरहरुले नै सेवा दिंदै आईरहेको डा. श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रहरी डाक्टरहरुले दिने सेवा मध्य हाडजोर्नी, कलेजोको उपचार, नाक कान घाँटीको उपचार, दाँतको उपचार र सामान्य चिकित्सा समबन्धि सबै प्रकारका उपचार रहेकाछन् । त्यसैगरी छाला रोग, स्त्री रोग, सर्जरी र मानसिक रोगको उपचारका लागि भने बाहीरबाट डाक्टर बोलाएर सेवा दिंदै आएको पनि डा. श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार छालाको उपचार आईतबार, स्त्रीसँग सम्बन्धित रोगको उपचार बुधबार त्यसैगरी सर्जरी बिहीबार हुन्छ भने मानसिक रोगको उपचार शुक्रबार हुने गर्दछ ।
२४ घण्टा आपतकालिन सेवामा रहेको उक्त अस्पतालले ल्याब, एक्स रे र फिजियो थेरापी सेवा प्रदान गर्दै आई रहेको छ । डा. श्रेष्ठक अनुसार सो अस्पतालमा ५ जना डाक्टर रहेकाछन् भने ४ जना ल्याबमा कार्यरत छन् । त्यसैगरी फार्मेसीमा ५ जना, एक्स रे मा ३ जना र इमेरजेन्सी सेवामा ४ जना कार्यरत रहेका छन् । अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारबाट ९ करोडको भवन निमार्ण भईरहेको पनि डा. श्रेष्ठले जनाकारी दिनुभयो । उहाँले अस्पतालमा अहिले पनि बिरामी कुरुवा घर र पार्किंगको व्यवस्था नभएको हुनाले समस्या रहेको बताउनुभयो ।
डा. श्रेष्ठल अस्पतालको आवशकिय भौतिक संरचना निमार्ण भएसँगै भविष्यमा सर्वसाधारण नागरिकलाई समेत उपचारमा सेवा प्रदान गर्ने बताउनुभयो । ‘यो अस्पताललाई हामीले तीनै प्रदेशलाई जोडेर हबका रुपमा निमार्ण गर्न खोजि रहेका छौं । यदि यस्मा हामी सफल भयौं भने हामीले यसै अस्पतालबाट सर्वसाधारण नागरिकलाई समेत सेवा प्रदान गर्ने छौं ।’






