नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाले साउन १ गतेदेखि ‘घरदेखि अस्पतालसम्म’ चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन साउन १ गतेदेखि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने निर्णय भएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।
विरामीहरुको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने गरी तयारी थालिएको नगर प्रमुख विष्टले बताउनुभयो । “अस्पतालसम्म पुग्न विरामीले कुनै कठिनाई भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार जनताको सुखदुःखमा संगसंगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,” उहाँले भन्नुभयो–“एउटा एम्बुलेन्स चौबिसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र स्ट्याण्डबाई रहन्छ, कल सेन्टरको हामी व्यवस्था गर्छौं, विरामीलाई समयमै अस्पताल पुर्याउने व्यवस्था हुन्छ ।”
नेपालगन्ज उपमहानगरपालिकाभित्र २० वटा एम्बुलेन्स संचालनमा छन् । ती एम्बुलेन्सहरुमध्ये पालैपालो एउटा एम्बुलेन्स चौबिसे घण्टा नेपालगन्ज उपमहानगरपालिका कार्यालयभित्र स्ट्याण्डबाई रहनेछ । अन्य एम्बुलेन्सले पनि आवश्यकताका आधारमा निःशुल्क सेवा प्रदान गर्नेछन् । निःशुल्क एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स संचालक र चालकहरुसंग आज छलफल गरिएको छ ।
नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकले नेपालगन्ज उपमहानगरपालिकाभित्र संचालनमा रहेका एम्बुलेन्सहरुले नेपाल सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्नका लागि स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय, एम्बुलेन्स संचालक समिति तथा सरोकारवाला निकायले समन्वय तथा नियमन गर्ने निर्णय गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजनकुमार शाहीले जानकारी दिनुभयो । निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न आवश्यक तयारी गर्ने निर्णय पनि गरिएको छ ।






