बाँके । अत्याधिक गर्मीका कारण एक सातादेखि बन्द भएका बाँकेका विद्यालय भोली (बुधबार) देखि बिहानको समयमा सञ्चालनमा आउने भएका छन् । गर्मी र तातो हावा चल्ने क्रम नरोकिएपछि बुधबारदेखि विद्यालय बिहान मात्र सञ्चालन गर्न पाइने निर्णय बाँकेका विभिन्न पालिकाले गरेका छन् ।
नेपालगञ्ज उपमहानगरको शिक्षा महाशाखाका प्रमुख गोर्ख बहादुर थापाले एक साता भन्दा बढी गर्मी बिदा गरिएको भएपनि गर्मी अझै नघटेकोले अब बिहान मात्र विद्यालय सञ्चालन गर्न पाउनेगरि विद्यालय खुल्ने बताउनुभयो । उहाँले विद्यालयहरूलाई बिहान मात्र कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकिएको बताउनुभयो ।
कोहलपुर नगरपालिकाले मङ्गलबारसम्म बिदा दिएकोमा गर्मी अझै नघटेको जनाउँदै बुधबारदेखि बिहान मात्रै कक्षा सञ्चालन गर्न पाउने गरी विद्यालय खोल्ने निर्णय गरेको छ । कोहलपुरमा अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले जेठ २२ गतेदेखि ३० गतेसम्म गर्मी बिदा दिइएको थियो । मौसममा सुधार नदेखिएकोले गर्मी बिदा थप पनि गरिएको थियो ।
कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत रवि मिजारले कोहलपुर नगरपालिकामा रहेका विद्यालयहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने र कक्षा ४ देखि १० सम्मका कक्षाहरू मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको बताउनुभयो । उहाँले कक्षा ४ भन्दा कमका विद्यार्थीलाई अझैपनि घरमै राख्नुपर्ने भएकोले उनीहरूलाई बिदा दिइएको बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अझै केही दिन बाँकेमा तातो हावासँगै चर्को गर्मीको तापक्रम नघट्ने अनुमान मौसम विभागले जानकारी गराएको हुँदा सोही बमोजिम बिहानी सेवामा विद्यालय सञ्चालन गर्न गराउन सबैसँग आग्रह गर्नुभएको छ । उहाँले अझैपनि केहीदिन अवस्था यस्तै रहने अनुमान गरिएकोले सबैले सचेत भएर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र बालबालिकाको हेरचाहमा विशेष ध्यान दिन समेत अनुरोध गर्नुभयो ।






