काठमाण्डौ । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ । मंगलबार बिहान मुटुमा समस्या आएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेललाई भोलि मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको हो । राष्ट्रपति पौडेललाई २४ घण्टा अवलोकनमा राखी भोलि डिस्चार्ज गर्ने अस्पतालका कार्यकारी निर्देश चन्दमणि अधिकारीद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुनु भएको र उहाँलाई चिकित्सकहरुको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकन (अबजर्वेसन) मा राखी भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँदछौं’ प्रेस नोटमा भनिएको छ । हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अधिकारीले बताउनुभयो ।






