रुपनी जि एम, बाँके । अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने क्रम बढ्दै गएको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट एनिस्थेसोलोजिस्ट डाक्टर कृष्ण प्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार बैशाषको अन्तिम देखि सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउन थालेका हुन् ।
दैलेखका माधव आचार्यलाई बाँकेको कोहलपुरमा बैशाष ३१ गते करेट नाम गरेको सर्पले टोक्यो । रोजगारीका लागि भारत जाँदै गरेका ३७ वर्षिय आचार्य कोहलपुरमा आफन्तको घरमा राती भूईँमा सुतिरहेको अवस्थामा उहाँलाई करेट सर्पले टोकेको थियो । आचार्य उपचारका क्रममा बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा १४ दिन आईसियु र २ दिन वार्डमा बसेर निको भई घर फर्कनु भएको छ । उहाँ खतरा मुक्त भएर घर फर्किएता पनि अझैंपनि उहाँलाई हिंड्डुल गर्न गाह्रो भएको उहाँका बुवा हेमलाल आचार्यले बताउनुभयो ।
बुवा हेमलालका अनुसार माधवलाई अहिले पनि हातका औंला, हत्केला र पैताला यी तीनै ठाउँहरुमा जलन हुने गरेको छ । ‘खतरा मुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर त आयौं तर छोराको अवस्था भने सामान्य छैन ।’ उहाँले भन्नुभयो,‘माधव पहिलाको जस्तो सजिलै हिंड्डुल गर्न सक्दैन । जतिखेरै पनि हातका औंला, हत्केला र पैताला पोलि रहेको छ मात्र भन्छ ।’ बुवा हेमलालका अनुसार माधवको जलन भएको ती ठाउँहरुमा निरन्तर कि पानी पट्टी लगाई रहनु पर्छ कि भने मसाज गरि रहनु परेको छ ।
करेट सर्पले टोकेपछि बाँकेको कोहलपुरमै उपचारकालागि उहाँले १ लाख २० हजार खर्च भएको बुवा हेमलाले बताउनुभयो । त्याहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज भेरी अस्पतालमा उपचार गराउने क्रममा ३ देखि ४ लाखको हाराहारीमा खर्च भएको बुवा हेमलालको भनाई छ । भेरीमा उपचार गराउँदा भित्रबाटा पाईने औषधी र आईसियू र वार्डको खर्चमा भने अस्पतालले छुट गरेको पनि उहाँले बताउनुभयो ।
माधवलाई जस्तै भारतीय नागरिक मोहम्मद हनिदलाई पनि राति सुतिरहेको अवस्थामा बिस्तारमा करेटले टोकेको थियो । मोहम्मद कामको शिलशिलामा बर्दियाको बाँसगढीमा ईट्टा भट्टामा काम गर्न भनि भारतबाट आउनु भएको हो । २३ वर्षका मोहम्मदलाई जेठको २० गते राती सुतिरहेको समयमा करेट सर्पले टोकेको थियो । ५ दिनको उपारपश्चात मोहम्मद जेठ को २५ गते बिहीबार निको भई डिस्चार्ज भएर घर जानु भएको छ ।
उपचार पश्चात घर फर्कनु भएका मोहम्मदको पनि स्वाथ्य अवस्था सामान्य नभएको उहाँले काम गर्ने इट्टाभट्टका मालिक खगेन्द्र कंडेलले जानकारी दिनुभयो । कंडेलका अनुसार मोहम्मदको बोलीमा स्पष्टता छैन भने हिंडाईमा पनि केही समस्या नै देखिएको छ । ‘अस्पतालबाट डिस्चार्ज भएर मोहम्मद यहाँ आएको ३ दिन भएको छ । यो तीन दिनमा उस्को बोली सुस्त छ ।’ उहाँले भन्नुभयो,‘उस्ले अहिले पनि औषधी खाई रहेको छ ।’ इट्टाभट्टका मालिक खगेन्द्रका अनुसार मोहम्मदको उपचार खर्च ६२ हजार भएको छ ।
यही जेठ ८ गते बाँकेको नेपालगज उपमहानगरपालिका वडा नं. २३ जंगलसिंग पुरुवा (नेपालगञजको फोहोर फाल्ने ठाउँ) निवासी सहजरानी यादवलाई पनि कोब्रा नाम गरेको सर्पले टोकेको थियो । २२ वर्षिया सहजरानीलाई दिउँसो धारमा पानी पिउन जाँदा सर्पले टोकेको थियो । सहजरानी १० दिनको उपचारपछि निको भई घर फर्कनु भएको छ । उहाँको पनि स्वास्थ्य अवस्था माधव र मोहम्मदको जस्तै छ । उहाँले पनि अहिले औषधी खाई रहनु भएको छ । उहाँको उपचार खर्च भने ३५ हजार भएको उहाँका भाईले बताउनुभयो ।
डा. आचार्यका अनुसार गर्मी बढ्दै गर्दा विशेष गरेर करेट र कोब्राले टोकेर विष लागेका विरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । उहाँका अनुसार विष रहीत सर्पले टोकेकोलाई १० देखि १२ घण्टा विष लाग्छ कि भनेर अभजर्भेसनमा राखिने र उक्त समयमा विष लागेको कुनै लक्षण नपाईएको अवस्थामा घर फर्काउने गरिएको छ । तर विष लागेको सर्पको केसमा भने बिरामीको अवस्था हेरेर कम्तिमा पनि २ हप्तासम्म आईसियू र भेन्टिलेतरमा राखेर सुधार नहुुँदासम्म उपचार गरिने डा. आचार्यले बताउनुभयो ।
‘सर्पदंसबाट उपचारका लागि आएका बिरामीलाई हामीले विष लाग्छ कि लाग्दैन भनेर शुरुमा अभजर्भेसनका लागि राख्छौं र विष लागेको छैन भने बच्ने उपाय सम्झाएर घर फर्काउँछौं ।’ उहाँले भन्नुभयो,‘अभजर्भेसमा राख्दै गर्दा यदिन विष लागेको पाईएमा बिरामीलाई कम्तिमा पनि २ हप्तासम्म आईसियू र भेन्टिलेतरमा राखेर सुधार नहुुँदासम्म उपचार गरेर फर्काएका छौं ।’ विगत ८ वर्षदेखि सर्पदंसको विषयमा काम गर्दै आएका डा. आचार्यले नेपाल भरी नै सर्पदंसबाट कसरी बच्ने र सर्पदंस भई सकेको अवस्थामा उपचार कसरी गर्ने भनेर विभिन्न ठाउँहरुमा स्वास्थ्यकर्मीलाई तालिम दिने गरेको बताउनुभयो ।
उहाँले सर्पदंसबाट बच्नका लागि राती सुत्नुभन्दा पहिला बिस्तारा राम्री झारेर झुल टाँगेर मात्र सुत्ने, भूईँमा नसुत्ने, घर वरपर भएको जंगल वा झाडीलाई सफा बनाई राख्ने, सर्पको आहार कुखुरा भएको हुनाले राती कुखुरा कराएको सुनिएमा लाईट बालेर मात्र खोरको चेकजाँच गर्ने, त्यसैगरी घरमा मुसा छन् भने मुसालाई नियन्त्रण गर्ने बताउनुभयो । बाँकेको राँझा स्थित सर्पदंस उपचार केन्द्रमा जेठ महिनामा ३ जना सर्पदंसका बिरामी आएको स्वास्थ्य प्राविधिक राजन कुँवरले बताउनुभयो ।
उहाँका अनुसार विष लागेका २ जनालाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा रेफर गरिएको छ । रेफर गरिएका मध्य बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ मोहनपुरका मुनसिंग सार्कि हुनुहुन्छ भने डुडुवा गाउँपालिका वडा नं. ५ नानपुरकी सरिता लामिछाने मगर हुनुहुन्छ । जानकी गाउँपालिका वडा नं. ६ का रमावती भाटालाई सर्पले डसेको तर विष रहीत भएको हुनाले उक्त उपचार केन्द्रबाटै प्रारम्भिम उपचार गरेर घर फर्काइएको स्वास्थ्य प्राविधिक कुँवरले बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष १० जना सर्पदंसका विरामी उपचारका लागि केन्द्रमा आएका थिए । उक्त उपचार केन्द्र समूदाय र नेपाल आर्मीको सहकार्यमा समूदायकै मानिसलाई उपचार गर्न भनि संचालन गरिएको हो । बाँकेको शम्शेरगञ्ज स्थित सर्पदंस उपचार केन्द्रमा पनि जेठ महिनामा सर्पदंसका बिरामी २ जना आएको अहेव नन्दलाल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं. ८ जिरो बजारकी पप्पि कुमारी बोहोरालाई सर्पले टोकेको थियो । २१ वर्षिय पप्पिलाई सर्पको विष लागेको कुनै लक्षण नदेखिएको हुनाले १० घण्टा निगरानीमा राखेपछि सर्पबाट बच्ने उपाय सम्झाएर घर पठाईएको अहेव पाण्डेले बताउनुभयो ।
सोही उपचार केन्द्रमा सर्पदंसबाट उपचार गर्न भनि राप्तिसोनारी गाउँपालिका वडा नं. १ कुसुमकी कमला वली पनि जेठको २३ गते आउनु भएकी अहेव पाण्डेले जानकारी दिनुभयो । ३९ वर्षिया वलीलाई पनि विषालु सर्पले नटोकेको हुनाले विष लागेको कुनै लक्षण नदेखिएपछि सोही दिन १० घण्टा निगरानीमा राखेपछि घर फर्काईएको अहेव नन्दलाल पाण्डेले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष बैशाषदेखि भदौको महिनासम्म ३५ जना सर्पदंसका बिरामी उपचारका लागि आएका थिए ।
बाँकेमा भेरी अस्पताल, राँझाको सर्पदंस उपचार केन्द्र र शम्शेरगञ्ज स्थित सर्पदंस उपचार केन्द्र गरी तीन ठाउँमा सर्पदंसका बिरामीको उपचार गर्ने गरिन्छ । राँझा र शम्शरगञ्जमा विष रहीत बिरामीको उपचार गरिन्छ भने विष लागेका बिरामीलाई भेरीमा रेफर गरिन्छ ।







