बाँके । बाँकेको कोहलपुर नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोप लगाउने उमेर समुहका सबै बालबालिकालाई खोप लगाइएपछि आज पालिका खोप समन्वय समिति कोहलपुरको आयोजनामा आयोजित एक कार्यक्रमकाबीच जिल्ला खोप समन्वय समितिका सह संयोजक समेत रहेका जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्कीले कोहलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेकी हुन् ।
कोहलपुर नगरपालिकाका एक वर्ष मुनिका १ हजार ७७६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य थियो । त्यसमा बीचमा ११ जना खोप लगाउन छुटेका थिए । छुटेकालाई पनि खोप लगाइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए ।
घोषणासभा पालिका खोप समन्वय समिति संयोजक समेत रहेका नगर प्रमुख पुर्ण प्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सह संयोजक समेत रहेका जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्कीले खोप लगाउने उमेर समुहका कुनैपनि बालबालिका खोपबाट बन्चित हुन नहुने बताइन् ।
त्यसैगरी नगर प्रमुख आचार्यले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने सवालमा नगरपालिका प्रतिबद्धता व्यक्त गरे । उनले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन सहयोग गर्ने सम्पुर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिया । यस्तै कार्यक्रममा बोल्दै नगर उप प्रमुख संगीता सुवेदीले खोपको सवालमा नगरपालिकाले प्रभावकारी कार्य गरेको बताइन् ।
उनले स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने गरि पालिका लागेको बताइन् । जिल्ला खोप समन्वय समितिले खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेकामा कोहलपुर नगरपालिकालाई कदरपत्र सहि सम्मानित गरेको छ ।
अहिलेसम्म कोहलपुर नगरपालिकासहित खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकालाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले १३ प्रकारका रोग विरुद्धका खोप बालबालिकालाई लगाउने गरिन्छ ।






