रुपनी जि एम, बाँके । ‘मिनु खड्का’ भन्ने बित्तिकै बाँके राष्ट्रिय निकुञ्जमा हात्ति हाँक्ने महिला भनेर चिनिनुहुन्छ । उमेरले उहाँ ४ दशक पार गरिसक्नु भएकी माहुत महिला हुनुहुन्छ । हात्ति माथि बसेर हात्ति हाँक्न मिनुलाई झण्डै १ वर्ष हात्तिसँगै बस्नु पर्यो । काठमाण्डौमा ज्याला मज्दुरी गरेर आजित बन्नु भएकी मिनु आफ्नै घर आँगनमा हात्ति सफारी खुलेको छ भन्ने थाहा पाउने बित्तिकै काठमाण्डौबाट बाँके फर्किएर माहुतका लागि फारम भरेर नाम निकाल्न सफल हुनु भएको हो ।
०७४ सालमा हात्ति सफारीमा नाम निकालेर माहुत बन्नु भएकी मिनुले यो साढे ५ वर्षको अवधिमा छोरोछोरी र हात्ति दुबैको माया उत्तिकै लाग्ने बताउनुहुन्छ । प्रत्येक दिन घरबाट जंगल र जंगलबाट घर गर्दा सधैं हात्ति नै साथी भएको बताउँदै मिनुले अब सक्दासम्म माहुत बनेर हात्तिकै सेवा गर्ने र हात्तिसँगै जंगल सफारी गर्ने बताउनुभयो । ‘मलाई मेरो छोराहरु र हात्तिमा एउटै फरक लाग्छ । छोराहरु बोल्छन् हात्ति बोल्दैन । तर मेरो लागि दुबै उस्तै हुन् ।’ उहाँले भन्नुभयो,‘विगत साढे ५ वर्षदेखि हात्ति मेरो साथी भएको छ । यो बिना अब अरु नै काम गर्ने त म सोच्दिन पनि । सक्दासम्म माहुत बनेर यसैको सेवा गरी रहन्छु ।’
हात्ति सफारीका लागि नाम निस्कन्छ भन्ने कल्पनासम्म नगरेकी मिनुले अहिले माहुत बनेर आन्तरिक पर्यटक घुमाउँदा आफै दंग परेको बताउनुभयो । ‘मेरो नाम निस्कन्छ भन्ने मलाई लागेको थिएन । तर निस्कियो । हिजोआज कहिले कांही पहिलाका दिनलाई सम्झन्छु । अनि आफै दंग पर्छुु ।’ माहुत मिनु एकल महिला हुनुहुन्छ । आजभन्दा ८ वर्ष पहिले वैदेशिक रोजगारीको शिलशिलामा कतार जानु भएको श्रीमानको काम गर्ने क्रममा विदेशमै छतबाट खसेर मृत्यु भएको उहाँले बताउनुभयो । श्रीमानको असामयिक रुपमा भएको निधनले आफु र आफ्ना दुई छोराहरुलाई सामान्य जीवन यापन गर्न समेत गाह्रो भएको मिनुले बताउनुभयो ।
श्रीमानको मृत्यु पश्चात पुर्ण रुपमा एकल बन्नु भएकी मिनुलाई माईती र घर दुवैबाट साथ सहयोग गर्छन् भन्ने आशा थियो तर दुवै परिवारबाट निराश हुनु परेको उहाँले बताउनुभयो । ‘एकल महिला भएपछि म साँच्चै एकल बनें । मैले माईती र घर दुवै परिवारको न साथ पाएँ न त सहयोग नै ।’ उहाँले भन्नुभयो,‘मैले हिम्मत हारिन । ज्याला मज्दुर गररै भएपनि छोराहरु पाल्न सक्छु भन्ने आँटले नै म घर बनाउने काममा काठमाण्डौ गएँ, र झण्डै डेढ वर्ष काम गरें ।’ बाँके राष्ट्रिय निकुञ्जमा कार्यरत माहुत मिनु अहिले थाई कर्मचारी हुनुहुन्छ ।
शुरुमा १५ हजारबाट हात्तिको सेवा गर्दै आईरहनु भएकी मिनुले अहिले मासिक २५ हजार बुझ्नुहुन्छ । बिहान ५ बजेर उठेर जंगल जाने र बेलुका ५÷६ बजे जंगलबाट फर्कने त मिनुको दैनिकि नै बनिसकेको छ । सामान्य लेखपढ भएकी मिनुले हात्तिलाई भने आफ्नै भाषामा धेरै कुरा पढाई सक्नु भएको छ । उहाँ भन्नुहुन्छ,‘मेरो हात्तिले मैले जे भन्यो त्यही मान्छ । मेरो भाषा बुझ्छ । जब यस्ले मैले भनेको सबै मान्छ तब मलाई असाध्यै खुशी लाग्छ ।’ शुरुशुरुमा नपत्याउनेहरुले हिजोआज सम्मान गर्दा निकै खुशी लाग्ने गरेको माहुत मिनुले बताउनुभयो । मिनुले सौराज गज नामक भाले हात्तिमा माथि बसेर जंगल सफारी गर्नुहुन्छ ।
मिनु जस्तै बाँके राष्ट्रिय निकुञ्जमा हात्ति हाँक्ने महिलाको रुपमा चिनिनुहुन्छ रिता कुमारी सुबेदी पनि । रिताले हात्तिलाई आफ्नो भाषा सिकाउँदै हात्ति माथि बसेर आन्तरिक पर्यटकलाई निकुञ्ज सफारी गराउन थालेको ६ वर्ष भएको छ । उमेरले भर्खर तीन दशक पार गर्नु भएकी रिताले पनि माहुत बन्नका लागि मिनुले जस्तै हात्ति सफारिका लागि खुलेको दरबन्दीमा आवेदन दिएर लिखित मौखिक सबै परिक्षा पास गरी हात्ति हाँक्ने महिलाका रुपमा आफुलाई चिनाउनु भएको हो ।
प्लस टूू सम्म पढ्नु भएकी रिताले माहुत बन्नका लागि कम्तिमा पनि ६ महिना हात्तिको सेवा गर्नु परेको बताउनुभयो । ‘माहुतमा नाम निस्किएपछि पुराना साथीहरुसँग हात्तिको स्याहार, खानापानीको समय, हात्तिलाई माया गर्ने तरिका, हात्तिको चरण, हेरचाह आदि सबै कुरा सिक्दै गर्दा ६ महिना लाग्यो ।’ उहाँले भन्नुभयो,‘हात्तिको सेवा गर्दै गर्दा उस्ले हाम्रो भाषा बुझ्ने रहेछ अनि हामीले पनि उस्को आवश्यकता । हात्ति माथि बस्न मलाई कम्तिमा पनि ६ महिना लाग्यो ।’
दैनिक ५ देखि ७ घण्टा हात्ति माथि बसेर जंगल सफारीमा जानुु पर्दा शुरुशुरुमा पुरी शरीर दुख्ने अनुभव रिताले सुनाउनुभयो । उहाँले भन्नुभयो,‘शुरुमा बानी नपर्दा असाध्य नै शरीर दुख्ने गथ्र्यो । म त ढाड दुखेर हैरान नै हुन्थें । तर पछिपछि भने अलि बानी पर्दै गयो ।’ बाँके राष्ट्रिय निकुञ्जमा हिजोआज हात्ति सफारीका लागि पर्यटक नआएपनि पहिला दैनिक २० देखि २५ आन्तरिक पर्यटकलाई हात्तिमा बसालेर जंगल सफारी गराउने गरेको रिताले बताउनुभयो ।
बिहानै उठ्ने बित्तिकै जंगल र बेलुका नहुुँदासम्मपनि जंगलमै दिन बित्दा कहिले काँही दिक्क लाग्ने रिता बताउनु हुन्छ । ‘कहीले काँही त दिक्क लागेर आउँछ । जागिर छोडि दिऊँ कि जस्तो पनि लाग्छ । तर फेरी यो आर्थिक मन्दिमा अरुले जागिर नपाएर भौतारिएको देख्दा जस्तो भएपनि सरकारी जागिर छ भन्ने सम्झन्छु । र मन बुझाउँछु ।’ रिताको ७ वर्षको एक छोरा हुनुहुन्छ भने श्रीमान नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । बच्चा सानो हुँदा श्रीमान लगाएत परिवारका अन्य सदस्यले जागिर छाड्न कर गरेपनि रिताले घर र जंगल दुबै सम्हाल्न सक्ने ओठट गर्दै माहुत बनि रहनुभयो । अहिले आफु हात्ति हाँक्न महिलाका नामले चिनिन पाएकोमा गौरव लाग्ने पनि उहाँले बताउनुभयो ।
आजभन्दा २ वर्ष पहिला माहुत रितालाई ‘गणेर गज’ नाम गरेको भाले हात्तिले हानेर घाईते बनाएको अनुभव पनि उहाँले सुनाउनुभयो । ‘२०७८ सालमा मलाई गणेश गज नाम गरेको हात्तिले मलाई हानेर घाईते बनाएको थियो । बाहीर चोट देखिएन तर टाउको भने भित्री चोट लागेको थियो ।’ उहाँले भन्नुभयो,‘सुँडले थिचेर मलाई टाउकोमा चोट लागेको थियो । त्यतिबेला मैले डेढ महिना औषधी खाएकी थिएँ ।’ दाना दिएर फर्कने बेला रितालाई गणेश गजले सुँडले थिचेर घाईते बनाएको उहाँले बताउनुभयो । अहिले रिता शान्तिकली नाम गरेको हात्तिको माहुत हुनुहुन्छ ।
बाँके रष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत श्याम साहले निकुञ्जमा हात्ति हाँक्ने महिला र पुरुषमा कुनै फरक नभएको तर जंगल सफारी गर्न आउने पर्यटकले भने महिला माहुुत भएको हात्तिमा सफारी गर्न अलि आनाकानी गर्ने बताउनुभयो । ‘जंगल सफारीमा आउने पर्यटकले महिला माहुतभन्दा पुरुष माहुतलाई रोज्ने गरेको पाईन्छ ।’ उहाँले भन्नुभयो,‘सायद उहाँहरुले शारीरिक रुपमा पुरुषको तुलनामा महिला कम्जोर हुन्छन् र जंगलमा भैपरी आउने घटनाबाट जोगाउन सक्दैनन् भनेर पनि हुन सक्छ । तर हामीले उहाँहरुलाई सम्झाउने गरेका छौं ।’
अधिकृत साहले माहुत हुनका लागि पहिला शरीरिक परीक्षा पास गर्नु पर्ने प्रावधान अनुसार महिला माहुतले पनि रुख चढ्ने, दैडने र पौडने गरी तीन चरणका परीक्षा पास गरेको जानकारी दिनुभयो । उहाँका अनुसार शारीरिक परीक्षा पास गरेपछि मात्रै लिखित र मौखिक परीक्षा गर्ने नेपाल सरकारको नीति अनुरुप नै माहुत छनौट गरिन्छ । महिला माहुतले पनि यि सबै तहका परीक्षालाई पास गरेको हुनाले पर्यटकहरुलाई महिला माहुत प्रति लिंगका आधारमा भेदभाव नगर्न आग्रह गर्नुभयो ।
निकुञ्ज प्रमुख संरक्षण अधिकृत साहले महिला माहुुतलाई महिनावारीको समयमा आराम गर्न भनेर बिदा दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘महिनावारीका समयमा महिलालाई आराम चाहिन्छ । त्यसैले उक्त समयमा निकुञ्जले महिला माहुतलाई आरामका लागि बिदा दिने गरेको छ ।’ उक्त समयमा पुरुष माहुतले महिला माहुतले हाँक्ने हात्तिको हेरचाहा गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । बाँकेमा सफारिका लागि ६ वटा हात्ति रहेका छन् । जस्मा भोले हात्ति २ वटा छन् भने पोथी हात्ति ४ वटा रहेको निकुञ्ज प्रमुख साहले जानकारी दिनुभयो । बाँके राष्ट्रिय निकुञ्जमा महिला पुरुष गरी २० जना माहुत छन् ।






