काठमाण्डौ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गरेर अगाडि बढाउन कुनै पनि समस्या नरहेको बताए । नेपाल ओलम्पिक कमिटीले बुधवार आयोजना गरेको एक कार्यक्रममा मन्त्री लिम्बुले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउन कुनै समस्या नभएको बताए ।
उनले खेलकुद क्षेत्रमा लागेकाबाट त्याग र तपस्याको आवश्यकता रहेको बताए । चीनको हाङझाउमा हुने एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा सहभागी हुने गृहकार्य भइरहेको पनि उनले बताए । यसैबीच नेपाल ओलम्पिक कमिटीले खेलकुदमन्त्री लिम्बु र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई स्वागत गर्दै सम्मान गरेको छ ।
कमिटीको सातदोबाटोमा रहेको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त मन्त्रीहरूलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । मन्त्री भण्डारीले ओलम्पिक कमिटी स्वायत्त र फरक संस्था रहेको बताउनुभयो । उहाँ ओलम्पिक कमिटीका सल्लाहकार पनि हुनुहुन्छ ।






