दोलखा । दोलखाको शैलुङ गाउँपालिका–३, बोथ्लेमा निर्माण गरिएको शीतभण्डार प्रयोग हुन सकेको छैन । बागमती प्रदेश सरकारको छ करोड रुपियाँ लगानीमा निर्माण भएको प्रदेशकै ठुलो तीन सय मेट्रिक टन क्षमताको यो शीतभण्डारमा तरकारी र आलु पकेट क्षेत्रका किसानले उत्पादित वस्तु राख्न चासो नदिएपछि प्रयोगविहीन बनेको हो ।
निर्माण सम्पन्न भई शीतभण्डारमा आवश्यक सबै उपकरण जडान भइसकेको छ। किसानले बारीबाट सिधै व्यापारीलाई कृषि उत्पादन बिक्री गरेपछि भण्डार खाली भएको हो । शैलुङ आलु पकेट क्षेत्रका रूपमा रहे पनि किसानले निर्मित भण्डार अपायक स्थानमा बनेकाले राख्न इच्छा नै नदेखाएको स्थानीय मोहनसिंह तामाङले बताउनुभयो। यहाँ उत्पादित किवी र तरकारीसमेत किसानले शीतभण्डारमा राखेका छैनन् ।
गाउँपालिकाले निश्चित रकम लिएर किसानलाई भण्डार प्रयोग गर्न दिन सूचना गर्दै आएको छ । भण्डार व्यवस्थापनको कार्यविधि बनाएर सञ्चालनको तयारी भइरहेको सो गाउँपालिकाले जनाएको छ । गोरखापत्रदैनिकमा यो समाचार छ ।






