काठमाण्डौ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउनुपर्ने बताएकाछन् । शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य गौतमले उनले यस्तो बताएका हुन् । उनले आफ्नो आवश्यकताबमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी विस्तार गरी काम अघि बढाउनुपर्ने बताए ।
गौतमले देशका लागि आवश्यक जनशक्ति यहीँ नै उत्पादन गर्नसके मात्रै शिक्षा क्षेत्रको विकास हुने दाबी गरेका थिए । सरकारले स्वदेशमा नै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने उनको भनाइ छ । उनले शैक्षिक शक्ति निर्माण गर्न र विश्वमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति निर्माण गर्ने कुराको ग्यारेन्टी विश्वविद्यालयले लिन सक्नुपर्ने पनि बताए ।
उनले भने,‘उच्च शिक्षा सरकारले पूर्णरूपमा निःशुल्क गराउन सक्नुपर्छ । आफ्नो आवश्यकताबमोजिम प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी बढाउनुपर्छ । त्यो आवश्यकताका निम्ति त्यस्ता विज्ञ व्यक्ति तयार गर्न सक्छौँ र बाहिर पठाएर वैदेशिक मुद्रा आर्जन गर्न सक्ने गरी हामी जानुपर्छ । नपढेका, नजानेका हस्ताक्षर गर्न नसक्ने व्यक्ति जानुभन्दा त यस्ता मानिस जानु हाम्रा निम्ति गौरवको विषय हुन्छ ।’






