दैलेख । आठबीस नगरपालिका–६ माल्यको वनमा भएको आगलागीमा घाइते भएका ११ मध्ये चार जनालाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । गृह र रक्षा मन्त्रालयसँग समन्वय गरेर गम्भीर घाइते चार जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौको कीर्तिपुर अस्पताल लगेर उपचार थालिएको छ ।
घाइतेहरू आठबीस–६ सिगासैनका ३५ वर्षीय भीमबहादुर विक, ३४ वर्षीय प्रकाश विक, ३० वर्षीया बसन्धुरा विक र ३२ वर्षीया जुना विकलाई काठमाण्डौ पुर्याइएको आठबीसका मेयर तर्कबहादुर बडुवालले जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आठबीस–६ सिंगासैनको अइढुंगादेखि तुसारपानी गोरेटो बाटो खन्ने काममा कामदारहरूले काम गरिरहेको बेला वनको तलतिरबाट एक्कासी आगोको लप्काले भेट्दा उनीहरू घाइते भएका थिए ।






