रुपनी जि एम, बाँके । लोकबहादुर सिंह ठकुरी चार बर्ष अगाडी साउदी अरब (विदेश) बसेर घर फर्किए । खजुरा गाउँपालिका २ का लोक बहादुर सिंह घर फर्किए लगत्तै आफ्नै पशु फर्म सञ्चालन गरेर पशु व्यावसायी बन्न पुगे । करिव २४ बर्ष विदेशमा बसेर फर्कनु भएका लोकबहादुर अहिले आफ्नै लगानीमा पशुपालन गरेर खुशी छन्,‘दुःख पनि छ रमाईलो पनि छ’ लोक बहादुरले भन्नुभयो,‘२४ बर्ष अरुको देशमा बसेर अनुभव बटुलेको छु । गरे आफ्नै देशमा हुन्छ ।’
विदेशबाट फर्किनु भएका लोक बहादुरले ३ वटा भैसीबाट आफ्नो व्यवसाय सुरु गरे । सुरुमा युट्युबमा हेरेर प्रेरणा जागेको बताउँदै उनले अहिले ५ वटा भैसी, २५ देखि २६ ओटा बाख्रा र ३ सय भन्दा बढि कुखुरा पालेका छन् । कुखुरा उत्पादनका लागि लोक बहादुरको आफ्नै मेसिन पनि छ । विदेशमा बस्दा युट्युवमा भैसीपालनबाट ग्यास उत्पादन गरेको देखेर प्रेरणा जागेको उनको भनाई छ । उनले भैसीबाट दैनिक ३० लिटर दुघ नजिकैको रिमझिम बजारमा विक्री गर्ने बताउँछन् ।
सुबेदार द्रोण कृषि फार्म प्रा.लि खजुरा गाउँपालिका २ बाँके नामक फार्म दर्ता गरेर उनले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् । फार्ममा ‘दूधको माग दिनहुँ बढेकाले भैंसी थप गर्ने सोचाई छ ।’ लोकबहादुरले भने । भैसीपालन संगसगै बाख्रा र कुखुरालाई थप्दै जाने योजना रहेको उनले बताए । ‘मसंग रहेको बाख्रा र कुखुराको व्यावसाय पनि राम्रै चलेको छ । आगामी दिनमा बाख्रा र कुखुरालाई थप्दै लैजाने योजना बनाएको छु ।’
पशुपालनको माध्यमबाट स्थानीय बजारको मागलाई आपूर्ति गर्न सक्ने गरी उन्नतजातको बाख्रा उत्पादन तथा बिक्रि वितरण गर्ने योजना रहेको अर्का व्यवसायी द्रोण कृषि फार्म प्रा.लि का प्रोप्राईटर अर्जुन शाहीले बताए । ६ बर्ष विदेशमा काम गरेर फर्किएका अर्जुन पनि लोक बहादुर जस्तै पशुपालन व्यवसाय गर्दै आएका छन् । ‘राज्यले व्यवसाय संचालनका लागि अनुदान, ऋण लगाएतका सुविधाहरु दिनुपर्छ,’ अर्जुनले भन्नुभयो ‘गाउँमै रोजगारी र आम्दानी लिन व्यवसाय कोशेढुंगा सावित हुनेछ ।’
२५ कठ्ठामा फार्म सञ्चालन गर्नु भएका अर्जुनको करिब ८० लाख लगानी लागिसेको छ भने ५ जनाले रोजगारी पाएका छन् । ‘राज्यले दिने सुविधा किसान सामू पुग्नै सक्दैन । साना किसानलाई उत्प्रेरणा दिनुपर्ने ठाउँमा झण्झटिलो प्रक्रियाले किसान झनै दुखी भएका छन् ।’ उहाँले भन्नुभयो । किसान र राज्यको दुरी नजिक भएमात्र किसानले पाउने सेवा सुविधा पारदर्शिता हुने उनले बताए । किसानले उत्पादन गरेको बस्तु राज्यले सिधै किन्ने वातावरण मिलाउन सके नेपालका अधिकांश युवा पशुपालन तथा कृषि पेशामा आकर्षित हुने उनको भनाई छ ।
उक्त पालिकाको पशु शाखामा कार्यरत तारा खड्काले स्थानियतहले गरेको पशुपालनमा सहयोग पारदर्शिता रहेको बताईन् । खजुरा पशु शाखाले स्थानिय कृषकलाई चाहिने कृषि औजार, अनुदान, कृषि विउ विजन, घाँस लगायतका सेवा सुविधाहरु माग अनुसार प्रदान गर्न नसकिएको उनले बताईन् । खड्काले पशु व्यवसायका लागि अनुदानमा राज्यको नियम अनुसार गाउँपालिकाले प्रदान गर्दै आएको उनले बताईन् । राज्यले दिने अनुदान तथा कृषि वितरण नियमसंगत आए पहुँच र पावर नचाहिने खड्काको भनाई छ ।
स्थानिय कृषकहरुले कृषि र पशु शाखामा सम्मन्वय गरेर कृषि व्यवसायको बारेमा निती नियम बुझ्न उनले सुझाव समेत दिईन् । खजुरा पशु शाखामा कृषिको विषयमा हरेकको सुचना टाँस गरिएको हुन्छ यस विषयाको बारेमा धेरैलाई जानकारी नहुने भएको हुनाले समय समयमा कार्यालयमा आएर बुझ्न उनले आग्रह समेत गरिन् ।






