काठमाण्डौ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले बलिया देशसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताएका छन् । मङ्गलवार फाइनल खेलमा नेपालले यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएसँगै कप्तान पौडेलले बलिया टोलीविरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने बताए ।
पौडेलले एसिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भूमिका तारिफयोग्य रहेको प्रतिक्रिया दिए । प्रशिक्षकको योजनाअनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै उनले एसिया कप नेपाली टोलीका लागि ुएक्सपोजरु भएको बताए ।
अहिले एसिया कप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुनकुनै ठाउँमा भए पनि त्यो प्रतियोगिता हुनुपर्ने पौडेलले बताए । एसिया कप आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने तालिका छ । यस्तै फाइनलमा यूएईसँगको खेलमा सम्हालिएको प्रदर्शन गरेका गुलशन झाले योजनाअनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजनाअनुसार खेल्दा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिए ।
उनले तेस्रो नम्बरमा ब्याटिङ गर्दै भीम सार्कीसँग उत्कृष्ट साझेदारी गरेका थिए । झाले करियरकै उत्कृष्ट ब्याटिङ गर्दा खेलको ुप्लेयर अफ दि म्याचु पनि घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भूमिका निकै महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिए ।
नेपालले एसिया कपमा स्थान बनाएसँगै बलिया टोलीसँग खेल्ने अवसर आएको उनले बताए । लामिछानेले नेपाली टोलीलाई प्रतिकूल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीलाई हराउन सहज भएको बताए ।






