काठमाण्डौ । नेपालले एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जितेसँगै नेपाली टोली एसिया कपमा पनि छनोट भएको छ । नेपाली टोलीले घरेलु मैदानमा सम्पन्न प्रिमियर कपको फाइनलमा मंगलबार यूएईलाई ७ विकेटले हराएको हो ।
नेपालले अब आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । नेपाली क्रिकेटका लागि यो महत्त्वपूर्ण उपलब्धि हो । मंगलबार नेपालले प्रिमियर कपको उपाधि जित्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहालले खेलाडीलाई सामाजिक सञ्जालहरूमार्फत बधाई दिए ।
प्रधानमन्त्रीले खेलाडीलाई उचित पुरस्कारबाट सम्मान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ त खेलाडीलाई बधाई दिन कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै पुगे । यसका अतिरिक्त अन्य राजनीतिक दलका नेताहरूले पनि खेलाडीलाई बधाई दिने क्रम जारी छ ।
तर, यसपटक नेपालको जित लगत्तै केही राजनीतिज्ञले क्रिकेटलाई फरक ढंगले पनि चर्चामा ल्याएका छन् । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का अध्यक्ष रवि लामिछानेले खेलाडीलाई जितको बधाई दिँदै नेपाली क्रिकेटसँग जोडेर सरकारलाई पनि केही सुझाव दिएका छन् ।
‘नेपाली क्रिकेट टिमलाई आजको महत्त्वपूर्ण जितका लागि धेरै धेरै बधाई ११ खेलाडीहरूको आजको प्रदर्शनले नेपालको इज्जत बढाएको छ,’ खेलाडीलाई बधाई दिँदै रविले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले सरकारलाई सुझाव पनि दिएका छन् ।
‘अबको जिम्मेवारी नेपाल सरकारको । हामीले एसीसी प्रिमियर कपको उपाधि जितेका छौँ । एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र आईसीसीसँग आजैदेखि पहल थालियोस् ।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस् । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुनसक्दछ’, अध्यक्ष लामिछानेले भनेका छन् । अहिलेको परिवेश पनि त्यस्तै छ । त्यसैले पनि रास्वपाका अध्यक्ष लामिछानेले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल एसिया कपमा त छनोट भयो तर, नेपालले त्यो प्रतियोगिता खेल्न पाउँछ वा पाउँदैन भन्ने विषय अन्योलमै छ । एसिया कपको आगामी संस्करणकै भविष्य अन्योलमा परेपछि यस्तो स्थिति सृजना भएको हो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आगामी एसिया कप पाकिस्तानमा खेलाउने निर्णय गरेको छ ।
भारतले दुई देशबीच लामो समयदेखि चुलिएको राजनीतिक द्वन्द्वका कारण एसिया कप खेल्न आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ । भारतले आफ्नो टोली नपठाउने भएपछि प्रतियोगिता अन्योलमा परेको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले भने प्रतियोगितालाई निरन्तरता दिन एसीसीमा ‘हाइब्रिड मोडल’ प्रस्तुत गरेको छ । पीसीबीले एसिया कपका अन्य खेल पाकिस्तानमा खेलाउने तर, भारतका खेलहरू भने अन्य कुनै देश ९न्यूट्रल भेन्यू०मा खेलाउने प्रस्ताव राखेको छ ।
पीसीबीको प्रस्तावमा एसीसीका अध्यक्ष जय शाह पनि सकारात्मक देखिएका थिए । तर, भारत फर्किएपछि भने शाहले पीसीबीको उक्त प्रस्तावको विपक्षमा आफ्नो धारणा राखेका थिए । त्यसपछि एसिया कपको भविष्य झनै अन्योलमा परेको छ ।
पछिल्लो समय बीसीसी त एसिया कप नै रद्द गर्नुपर्ने पक्षमा देखिएको छ । बीसीसीआईले यसअघि नै एसिया कपको सट्टामा छुट्टै पाँच देश सहभागी हुने प्रतियोगिताको ढाँचा अगाडि सारिसकेको छ । बीसीसीआईले अगाडि सारेको उक्त प्रतियोगिताको ढाँचामा पाकिस्तान भने रहने छैन ।






