काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले बेहोर्नुपर्ने बताएका छन् । सोमवार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च बेहोर्नुपर्ने बताएका हुन् ।
भारतबाट उपचार गरेर हिजो आइतवार स्वदेश फर्किनुभएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट बेहोर्नुपर्ने उनले बताए । महामन्त्री थापाले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ बेहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत गरेका छन् । गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने उनको भनाइ छ ।
उनले भने,‘नेपालको राष्ट्राध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, नागरिकले तिरेको करबाट बाहिर लगेर उपचार गर्ने अनि उसको उपचार खर्च नागरिकले बेहोर्नुपर्ने अथवा राज्यकोषले बेहोर्नुपर्ने । तर नागरिक चाहिँ अस्पतालमा उपचार गर्दा गर्दै पैसा तिर्न नसकेर कोही हाम फाल्नुपर्ने, कोही अस्पतालमा गए बन्धक बन्नुपर्ने अवस्था गलत हो ।
यो गर्न पाइँदैन । यो गर्न पाइँदैन भनेर संसदमा हामीले कानुन बनाएका छौँ । त्यो कानुनलाई संशोधन गर्ने प्रस्तावकमध्येको एक म हुँ । यो गणतन्त्र हो, त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट बेहोर्नुपर्छ । म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्याउँछ रु त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्याउँछ ?’
कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसले विगतमा चुनाव अगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महसुस गर्नुपर्ने बताउनुभयो । उहाँले आउँदा दिनमा पार्टीले कुनै पनि दलसँग कहिल्यै पनि गठबन्धन गर्न नहुने बताए । उनले आउँदो आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकहरूको न्यूनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीहरूलाई आग्रह गरे ।






