नेपालगञ्ज । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बाँकेको नेपालगञ्ज रंगशालामा प्रस्तावित भाडादरका विषयमा पुर्नविचारका लागि प्रस्ताव राख्ने बताउनु भएको छ । आईतबार नेपालगञ्ज रंगशाला एथलेटिक्स सेन्थेटिक ट्रयाक शिलन्यास कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव घिसिङले रंगशालाको परिचालन र व्यवस्थापन दुवै पक्षलाई मिलाएर लैजान आवश्यकता भएको बताउँदै परिषद बैठकमा भाडादरका विषयमा आफुले पुर्नविचारका लागि प्रस्ताव राख्ने बताउनु भएको हो ।
नेपालगञ्जमा रहेको रंगशालामा खेल अभ्यासका लागि मात्रैपनि तोकिएको भाडादर नै चर्को भएको प्रसंगमा उहाँले कुनैपनि ठाउँको रंगशालालाई निशुल्क रुपमा प्रयोग गर्न नपाईने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘धेरै लगानीमा रंगशाला निर्माण गरिएको हुन्छ । रंगशालामा लगाईएको घाँस, पानी लगाएतका विषय सुरक्षाका दृष्टिकोणबाट ध्यान दिन आवश्यक हुन्छ । तर रंगशाला प्रयोगका लागि चर्को भाडाको विषयमा पुर्नविचारको प्रस्तावलाई मैले परिषदमा पेश गर्नेछु ।’
सेन्थेटिक ट्रयाक निमार्णका लागि राखेपले प्रतिक्षा कन्सट्रक्सन प्रालीलाई जिम्मा दिएको छ । ११ करोड ६४ लाख ६४ हजार १ सय ४० रुपैंया ३९ पैसाको लागतमा निर्माण हुन गईरहेको उक्त सेन्थेटिक ट्रयाक १० महिनामा सम्पन्न हुने राखेप सदस्य सचिव घिसिङले जानकारी दिनुभयो ।
खेल र खेलाडी दुबैलाई जोगाई राख्नका लागि खेलकुद विकास समितिले न्यूनतम भाडा लिनुपर्ने उहाँले बताउनुभयो । नेपालगञ्ज रंगशाला भित्रका संरचनाहरु प्रयोग बिहीन बनिरहेको प्रसंगमा राखेप सदस्य सचिव घिसिङले स्थानिय स्तर र प्रादेशिक स्तरको खेलकुदका कार्यक्रम आयोजना लागि आफुले प्रदेश खेलकुद परिषदलाई आग्रह गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्का साथै उहाँले कन्द्रिय स्तरका प्रमुख खेलहरुलाई पनि नेपालगञ्जको रंगशालामा खेलाईनका लागि आफुले प्रयास गर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका खेलाडीहरु हरेक खेलमा अब्बल रहेको बताउँदै उहाँले खेल क्षेत्रमा लुम्बिनी प्रदेशले ईतिहास रचेको पनि बताउनुभयो । एथलेटिक्स खेलका लागि लुम्बिनी एउटा उर्बर भूमि भएको बताउँदै राखेप सदस्य सचिव घिसिङले यस प्रदेशमा अन्तराष्ट्रिय स्तरको खेल खेलाउन सकिने सम्भावना रहेको पनि बताउनुभयो ।






