बाँके । बाँकेको खजुरा गाउँपालिकामा आज (शुक्रबार) देखि राष्ट्रियस्तरको जुडो प्रतियोगिता शुरु भएको छ । खजुरामा रहेको मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको सहकार्यमा पालिकाको वडा नम्बर ३ मा रहेको ज्ञानोदय नमुना माविको प्रांगणमा ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ आयोजना गरेको हो ।
प्रतियोगिताका खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले बेल्ट हस्तान्तरण गरेर सुरु गरिन् । उनले खजुरालाई चिनाउन जुडा प्रतियोगिताले सहयोग गरेको बताइन् । उनले खजुरा जुडोको हब बन्दै गए पनि जुडोको लागि कुनै पनि भवन नभएकोले पालिकाले भवन निर्माणका लागि आगामी वर्षदेखि काम गर्ने बताइन् ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीले खजुराको वडा ३ ले खेलकुदमा फड्को मार्दै गएको बताए । उनले वडामा हुने खेलकुदका गतिविधिका लागि वडाले सधैं सहयोग र सहकार्य गर्ने बताए । त्यस्तै कार्यक्रममा ज्ञानोदय नमुना माविका प्रध्यानाध्यापक ऋषिराम सापकोटाले जुडो खेलको माध्यामबाट ज्ञानोदयका खेलाडीले अन्तर्राष्ट्रियस्तरसम्मको प्रतियोगितामा सहभागिता जनाएको बताए ।
कार्यक्रममा मंगोलियन जुडाका अध्यक्ष विजय गुरुङले खजुरामा जुडो खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।कार्यक्रमको प्रभावफेरिमा खेलाडीहरुसहित आयोजकले खजुरा बजार परिक्रमा पनि गरेको थियो ।शनिबारसम्म संचालन हुने प्रतियोगितामा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशबाट बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, महेन्द्रनगर, धनगढी, कास्कीलगायतका जिल्लाबाट ९ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा करिब १ सय ५० खेलाडी र १८ जना अफिसियलको सहभागिता छन् ।
प्रतियोगितामा कुनै पनि टिमले निःशुल्करुपमा सहभागिता जनाउन सकिने व्यवस्थापक संयोजक निकेश लामिछानेले बताए । प्रतियोगिता अवधीभर खाना र आवासको व्यवस्था पनि आयोजकले निःशुल्क गरेको उनले बताए । प्रतियोगितामा पुरुषतर्फ ८ विधामा ३० केजीदेखि ६० केजी र ओपन खेलहरु खेलाइने छ भने महिलातर्फ पनि ८ विधामा ३२ केजीदेख ५७ र ओपन खेलहरु खेलाइने छ ।
साथै प्रतियोगितामा २५ केजीतर्फको पनि खेल खेलाइने छ । प्रतियोगितामा विजेता खेलाडीलाई स्वर्ण, रजत र दुई कास्य विधामा पुरिष्कृत गरिने छ भने वेष्ट पुरुष र महिला खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँसहित मेडलले सम्मान पनि गरिनेछ । यसअघि २०७५ सालमा पहिलो लुम्बिनी प्रदेशस्तरीय जुडो प्रतियोगिता सोही स्थानमा भएको थियो ।







