काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्काउन र देशमा स्थिरता र स्थायित्व हुन नदिनका लागि अनेक प्रकारका षड्यन्त्र भइरहेका बताएका छन् । मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शंका व्यक्त गरे । उनले देशभित्रका र बाहिरका शक्ति देशलाई बर्बाद पार्न लागेका बताउनुभयो। एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने ‘गेट पालेु भएको भन्दै उहाँले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताए ।
उनले भने,‘‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो। तर आम पार्टीका साथीहरु प्रशन्न भएको देखिन्छ। यो स्थिति फेरियो भने संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । बहुमत कसैको छैन । हाम्रो पार्टीसँग बहुमत छैन ।
हामीसँग बहुमत भन्दा निकै तल सिट छ । अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्ति क्रियाशिल छन् । अनेक प्रकारका षड्यन्त्र भइरहेका छन् । यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयास भइरहेका छन् ।’’ अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताए ।
कसैले पनि संस्थागत रुपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको बताए । उनले अनेरास्ववियुमा आवद्ध विद्यार्थी राम्रोसँग पढेर राम्रो नतिजा ल्याउनेखालको हुनुपर्ने बताए । कुनै पनि बाहानामा आफ्नो पढ्ने काम नछोड्न उहाँले विद्यार्थीलाई आग्रह गरे ।
उनले भन,‘‘पहिले पहिले हाम्रो समयतिर खुब चल्यो, बुर्जुवा शिक्षा बहिष्कार गरौँ भन्ने नारा वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा बिल्कुल नचाहिने काम थियो । म तपाईहरुलाई भन्न चाहन्छु, हाम्रा विद्यार्थी भाइबहिनी, अनेरास्ववियुका भाइबैनीहरु ट्यालेन्ट हुनुपर्दछ । परीक्षामा प्रथम, द्वितीय, तृतिय, चौंथो हुने को हो भन्दा अनेरास्ववियुका विद्यार्थी । आन्दोलनले गर्दा पढ्नै पाइएन । त्यस्तो कहिल्यै पनि हुँदैन ।’’
अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुनेकुरामा विश्वास व्यक्त गरे । उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठन भर्खरै सिक्दै गरेका भनेर टिप्पणी गरे । उनले नेविसंघलाई अनेरास्ववियुले जहिले पनि छक्का हान्दै आएको बताए । अध्यक्ष ओलीले भने,‘‘नेविसंघलाई हामीले जहिल्यै पनि छक्का हान्दिने गरेको हो ।
त्यसकारण मैले विश्वास लिएको छु यसपल्ट पनि तपाईंहरुको ब्याटिङ डरलाग्दो हुनेछ । तपाईंहरुले स्ववियु निर्वाचनमा अरुको बलिङलाई छक्का हानेर दर्शक दीर्घामा पु¥याइदिनुहुनेछ । हरेक क्याम्पसमा अनेरास्ववियु, यसरी तपाईंहरु जानुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।’’ गोरखापत्र ।






