बाँके । तेस्रो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो फेस्टिवलका लागि फोटो पठाउने अन्तिम मिति आगामी फागुन १५ गते सम्म रहेको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवल लकडाउन पछि तेस्रो संस्करण गर्न लागिएको हो ।
उक्त फोटो फेस्टिवलमा ९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ । प्रतियोगी सबै फोटो मध्ये सर्वाेत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ । विगत वर्षहरुमा वर्ष फोटोले २५ हजार नगद सहित प्रमाणपत्र र विद्यागत रुपमा पुरस्कृत फोटोहरुले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएकोमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिने आयोजक अन्तरालले जनाएको छ ।
वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लवका पूर्व अध्यक्ष विकास कार्की नेतृत्वको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नेछन् । फोटो प्रतिष्पर्धामा रहेका विधाहरु समाचार (News), दैनिक जीवन (Daily Life), पर्यटन, (Tourism), वन्यजन्तु (Wild life), खेलकुद (Sports), संस्कृति (Culture), प्रकृति र संरक्षण (Nature & Conservation) खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माईल (Nepal Smile) रहेका छन् । यस वर्ष देखि कृषी (Agriculture) बिधा थप गरिएको छ ।
हरेक बिधामा १ जना ब्यक्तिले २ वटा सम्म फोटो पठाउन सक्नेछन् । nepalgunjphoto@gmail.com मा फोटो पठाउन सकिने छ । विगतमा लुम्विनी, कर्णाली र सुदुरपश्चिममा खिचिएका फोटोहरु मात्र प्रतिष्पर्धामा सामेल गरिएकोमा यस वर्ष देखि देशव्यापी रुपमा फोटो आह्वान गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । ‘सिङ्गो नेपाल झल्किने फेस्टिवलको रुपमा नेपालगञ्ज फोटो फेस्टिवललाई अगाडी बढाउन थालेका हौं ।’
अन्तरालका प्रमुख कार्यकारी शाहले भने,‘यो फोटोग्राफी सम्वद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ ।’ फेस्टिवल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा फोटो प्रर्दशनीमा देशभरवाट छानिएका १ सय ५१ फोटो राखिनेछ । यस अवसरमा २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाण्डौबाट वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।






