वीरगञ्ज । पर्सा जिल्लाको सीमावर्ती भारतीय बजार रक्सौलमा रहेको रक्सौल रेलमार्ग स्टेसनमा नेपाल रेलवेको करिब २० बिघा जग्गा वर्षौंदेखि अलपत्र अवस्थामा छ । आयात निर्यात सहजताका लागि तत्कालीन नेपाल रेलवे कम्पनी लिमिटेडले भारत सरकारसँग खरिद गरी आफ्नो स्वामित्वमा ल्याएको करिब २० बिघा जग्गा नेपाल रेलवे कम्पनी र नेपाल सरकारको बेवास्ता कारण अलपत्र अवस्थामा पुगेको हो ।
जग्गामध्ये केही जग्गा भारतीय नागरिकले अतिक्रमण गरी घरटहरा पनि बनाइसकेका छन्। भवन बेवारिसे अवस्थामा रहेको, बाँकी जग्गा भारतीय रेलवेले आफू अनुकुल प्रयोग गरिरहेको छ भने नेपालकै जग्गामा सामग्री राखेबापत भारतीयलाई भाडासमेत तिर्नुपरेको नेपाली व्यवसायीहरूको गुनासो छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हीरालाल रेग्मीले जिल्लामा सरुवा भएर आएको भर्खर चाररपाँच दिन भएकाले रक्सौलमा रहेको जग्गाको बारेमा कुनै पनि जानकारी नभएको बताए ।
प्रजिअ रेग्मी अघि पर्सामा प्रमुख जिल्ला अधिकारी रहनुभएका उमेशकुमार ढकालले रक्सौलमा रहेको जग्गाको बारेमा आफूले पनि सुनेको तर कति छ भन्ने ठ्याक्कै जानकारी नभएको जनाए । उनले भने,“पर्सा जिल्लामा रहेका नापीरमालपोतमा त्यसको लगत हुँदोरहेनछ, मैले परराष्ट्रका साथीहरूलाई जानकारी गराइदिन आग्रह गरेको थिएँ । हालसम्म यकिन विवरण पाउन सकेको छैन ।” भारतीय पक्षले रक्सौलमा कोइला र क्लिङ्कर जम्मा गर्ने र वीरगञ्जतर्फ ढुवानी गर्ने गरेकोमा स्थानीयले विरोध गरेका थिए ।
नेपाल रेलवेको जग्गा छुट्टाएर त्यसैमा नेपाली व्यवसायीहरूले आफूले सामग्री राख्न पाउनुपर्ने पहल गर्न आग्रह गरेपछि रक्सौलमा नेपाल रेलवे कम्पनी लिमिटेडको जग्गा रहेको जानकारी पाएको पर्साका पूर्वप्रजिअ ढकालले बताए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले रक्सौलमा नेपालको जग्गा रहेको तर अतिक्रमणमा परेको बताए । उक्त जग्ग्गा नेपाल पक्षले आफूले प्रयोग पनि नगरेको र नेपाली व्यवसायीलाई प्रयोग गर्न पाउने व्यवस्था पनि गर्न नसकेको उनले गुनासो गरे ।
कोइलाको कारोबार गर्ने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपाल नेपाल सरकारले भएको जग्गा पनि प्रयोग गर्न नसकेको बताउनुहुन्छ। नेपाल रेलवे कम्पनी लिमिटेडको रक्सौलमा रहेको ट्रक तथा कन्टेनर सेवाको भवन अहिले पनि रहेको उल्लेख गरे । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रदीप केडियाले नेपाल रेल्वेको २० बिघा जग्गा रक्सौलमा रहेको बताए ।
उनले भने,“मेरो जानकारी अनुसार नेपाल सरकारले ९९ वर्षका लागि भारतसँग २० बिघा जग्गा लिजमा लिएको थियो । पहिले कसरी के प्रयोग भयो तर अहिले भने नेपाल रेलवे कम्पनी लिमिटेडको जीर्ण भवन त्यहाँ छ, जग्गामा कहीँ घरटहरा छन् । कहीँ भारतीय ठेकेदारहरूले कब्जा गरिराखेका छन् । गोरखापत्र ।






