बाँके । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य माननीय किशोर सिंह राठौरले प्रत्येक पालिकामा एउटा प्लस टू हुन आवश्यक रहेको बताए । बिहीबार शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजनामा र बाँकेको जानकी गाउँपालिका बाँकेको आर्थिक सहयोगमा बिहिबारदेखि १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा ५ औं पालिका स्तरीय अध्यक्ष कप प्रतियोगिताको उदघाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
राठौरले उक्त जानकी गाउँपालिकामा पनि प्लस टू सञ्चालनका लागि पहल गर्न पालिका अध्यक्ष छब्बन खाँलाई आग्रह गरेका थिए । ‘यस पालिकामा प्लस टू सञ्चालनका लागि पहल कदमी अगाडी बढाउन म यसै पालिकाका अध्यक्ष ज्यूलाई आग्रह गर्दछु ।’ उनले भने,‘यसमा मेरो के कस्तो सहयोगको खाँचो पर्छ त्यो सबै सहयोग म गर्नेछु ।’ खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वस्थ रहन मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व रहेको बताए ।
बालबालिकालाई खेलतिर ध्यान केन्द्रित गरेर शिक्षित र अनुशासित गराउन आवश्यक रहेको बताउँदै कंग्रेस सहमहामन्त्र राठौरले मधेशी र मुस्लिम समूदायका बालबालिकाहरुलाई विशेष गरेर विद्यालय पढ्न जाने वातावरण श्रृजना गर्न आग्रह गरेका थिए । अहिलेको युग शिक्षाको युग भएको हुनाले कुनैपनि समूदायका बालबालिकाहरु कुनैपनि बाहानामा शिक्षा प्राप्त गर्नबाट बञ्चित हुनु हुँदैन भन्दै प्रमुख अथिति समेत रहेका राठौरले बालबालिकालाई शिक्षित र अनुशासित गराउन प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
शिक्षामा बालबालिकाहरुको पहूँच बढाउनका लागि स्थानिय जनप्रतिनीधिहरुले जनताको घरदैलोमा गएर प्रत्येक अभिभावकलाई बालबालिहरुलाई पढ्नको लागि स्कूल पठाउन आग्रह गर्नु पर्नेमा जोड दिए । जनप्रतिनीधिको दायित्व भनेको जनताको घरदैलोमा गएर उनीहरुलाई उत्साह प्रदान गर्ने हो । त्यही दायित्वलाई आत्मसाथ गर्दै प्रत्येक घरका प्रत्येक बालबालिका लाई शिक्षाको उज्यालो तर्फ अघि बढाउन जनताको घरघरमा वडाध्यक्ष देखि सदस्यसम्मलाई जान आग्रह गरे ।
‘समाजको विकास भनेको भौतिक संरचनाहरुको मरोमत मात्र हैन । शिक्षा पनि त्यस मध्यको एउटा प्रमुख विकास हो । समाजमा बस्नेहरु नै शिक्षित भएन भने त्यो समाज कसरी विकसीत हुन सक्छ ?’ उनले जनप्रतिनीधिहरु तर्फ ईशारा गर्दै प्रश्न गरे । शिक्षाको स्तर बडाउन शिक्षकहरु नै सक्षम हुन आवश्यक रहेको भन्दै प्रतिनिधिसभा सदस्य राठौरले शिक्षकलाई पनि नयाँ प्रविधि र पाठ्यक्रमका बारेमा अपडेट रहन सुझाव दिए । उनले शिक्षक तालिम सञ्चालन गरेर शिक्षकलाई सक्षम गराउन पालिका अध्यक्ष छब्बन खाँलाई आग्रह गरेका थिए ।
प्रत्येक पालिकाले आफ्ना विद्यार्थीहरु कति प्रतिशत साक्षर छन् भन्ने कुराको तथ्यांक राख्न आवश्यक रहेको उनले बताए । माघ १९ गतेदेखि २१ गतेसम्म चल्ले प्रतियोगितामा पालिका भित्रका १४ ओटा मदरसा, २४ ओटा सामुदायिक विद्यालय र १ ओटा गुमरुकुल गरि जम्मा ३९ ओटा रहेका छन् । उक्त प्रतियोगितामा ३ ओटा निजि विद्यालय, ११ ओटा मदरसा र २४ ओटा सामुदायिक विद्यालय गरि जम्मा ३८ वटा विद्यालयबाट तीन सय ६९ जना विद्यार्थीहरूको सहभागिता रहने छ ।






