बाँके । बाँकोको जानकी गाउँपालिका स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मानपुरको खेल मैदानमा आजदेखि १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा ५ औं पालिका स्तरीय अध्यक्ष कप शुरु भएको छ । बिहीबारदेखि शुरु भएको उक्त राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउँपालिका बाँकेको आर्थिक सहयोगमा शुरू भएको हो ।
प्रतियोगिताको उदघाटन गाउँपालिका प्रमुख छब्बन खाँ र नेपाली काँग्रेसका सह महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौर र प्रदेशसभा सदस्य बादशाह कुर्मीले संगै पानसमा बत्ति बालेर गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद माननीय किशोर सिंह राठौरले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वस्थ रहन मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व रहेको बताएका थिए ।
उनले जानकी गाउँपालिकाभित्र कुनैपनि अहिलेसम्म प्लस टू नभएको बताउँदै त्यसको लागि पालिकालाई पहल गर्न आग्रह गरे । त्यसैगरी कार्यक्रममा विशिष्ट आतिथिका रुपमा रहेका लुम्बिनी प्रदेशसभा सदस्य माननीय बादसाह कुर्मीले प्रतियोगितामा विद्यार्थी किताबको ज्ञानमा मात्र सिमित नभएर खेलकुद क्षेत्रमा पनि अब्बल हुनुपर्ने कुरामा जोड दिए । साथै राष्ट्रका लागि खेलकुद, स्वास्थ्य र खेलकुद क्षेत्रमा अगाडि बढ्न आग्रह गर्दै विद्यार्थी र शिक्षकलाई शुभकामना समेत दिए ।
गाउँपालिका प्रमुख खाँले खेलकुदले विद्यार्थी जीवनमा ऊर्जा थप्ने काम गर्ने बताए । विद्यार्थीले शैक्षिक स्तरमा मात्र नभई खेलकुदका विभिन्न क्षेत्रमा पनि सहभागी भइ आफूमा भएको क्षमतालाई प्रदर्शन गर्न गाउँ पालिका अध्यक्ष खाँले आग्रह गर्दै, त्यो वातावरण गाउँपालिकाले बनाउनु पर्ने र बनाइ दिएको समेत बताए । उनले अगामी वर्ष जानकी भित्र कन्या विद्यालयको सञ्चालन गर्ने समेत प्रतिबद्धता गरेका थिए ।
माघ १९ गतेदेखि २१ गतेसम्म चल्ले प्रतियोगितामा पालिका भित्रका १४ ओटा मदरसा, २४ ओटा सामुदायिक विद्यालय र १ ओटा गुमरुकुल गरि जम्मा ३९ ओटा रहे त पनि यस प्रतियोगितामा ३ ओटा निजि विद्यालय, ११ ओटा मदरसा र २४ ओटा सामुदायिक विद्यालय गरि जम्मा ३८ वटा विद्यालयबाट तीन सय ६९ जना विद्यार्थीहरूको सहभागिता रहने शिक्षा युवा तथा खेलकुद शाखाका सहायक प्राविधिक झुमी ओलीले जानकारी दिईन् ।
प्रतियोगिता अन्तर्गत एथलेटिक्स, कबड्डी र भलिबल लगायतका खेलकुदको आयोजना गरिएको प्रतियोगितामा विजयी हुनेले ट्रफी र प्रमाणपत्र पाउने शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले बताए । कार्यक्रममा सम्पूर्ण वडाका वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य, कर्मचारी, राजनीति दलका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, खेलप्रेमी मानुभाव, समाजसेवी, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा पालिकाका प्रमुख प्रसाशकीय अधिकृत सिंहराज डाँगीले शिक्षा र खेलकुदको माध्यमबाट नै समाजलाई थप सन्देश दिन सकिने बताएका थिए । उनले स्वागत मन्तव्यद्धारा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले गाउँपालिका स्तरिय शिक्षाको विकार र खेलकुदको विकासलाई थप ऊर्जा प्राप्त हुने बताएका थिए । कार्यक्रमको सञ्चालन जनजागरण समाजका कार्यक्रम संयोजक अमरेस प्रताप सिंहले गरेका थिए ।






