काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रपति चुनावको मिति तोके पनि सत्तारुढ दलले उम्मेदवारमा सहमति गर्न सकेका छैनन् । सहमति नबन्दा सत्ता सहकार्यको एक महिनामै माओबादी केन्द्र र एमालेबीच खटपट सुरु हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्ने बताई रहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सहमति अनुसार राष्ट्रपति एमालेलाई नै दिनु पर्ने अडान राखेका छन् । उनले एमाले बाहेकका उम्मेदवारमा सहमति हुने सम्भावना नरहेको बताएका छन् । तर, माओबादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमा नै जोड दिइरहेकाले एमाले सशङ्कित बनेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि राष्ट्रिय सहमति अनुसार नै राष्ट्रपति चयन गर्नु पर्ने धारणा राखेपछि एमाले सशङ्कित भएको हो । यस्तै, पद मुक्त भएका रवि लामिछानेलाई फेरि गृहमन्त्रालय दिने कि नदिने भन्ने विषयमा पनि माओवादी र एमालेभित्र विवाद भएको छ ।
एमाले गृह मन्त्रालय लामिछानेलाई दिने पक्षमा उभिएको छ भने प्रधानमन्त्री प्रचण्ड आफैँ राख्ने पक्षमा छन् । सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि रिक्त रहेको गृह मन्त्रालय आफैँले राख्ने प्रचण्डको तयारी छ ।
प्रचण्डलाई पार्टीभित्रबाट पनि माओबादीले नै गृह राख्नुपर्ने दबाब परेको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको छ । पद मुक्त भएका लामिछानेले प्रक्रिया पूरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिइ सकेका छन् ।
कांग्रेससहितको पाँचदलीय गठबन्धन तोडेर गएको पुस १० गते सातदलीय समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले त्यतिबेला नै गृह मन्त्रालय आफैँसँग राख्न चाहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनविना बहुमत नपुग्ने भएपछि त्यो सम्भव भएको थिएन ।
राष्ट्रपति चयन र गृह मन्त्रालयको विषयमा सहमति खोज्न आज पनि दलहरु छलफलमा जुट्दै छन् । निर्वाचन आयोगले हिजो राष्ट्रपतिको चुनाव फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव चैत ३ गते गर्ने निर्णय गरेको थियो । यो समाचार उज्यालोमा छ ।






