डोटी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार भएको बताएका छन् । नेपाल प्रेस संगठन सुदूरपश्चिमले सोमबार कैलालीको धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने भनी उल्लेख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताए ।
मन्त्री भट्टले नेकपाका नेता प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सी मोह लागेकाले पार्टीको यस्तो गति भएको आरोप समेत लगाएका थिए । नेकपाका नेताद्वय प्रचण्ड–माधवले केटाकेटी पारा देखाएका कारण पार्टी र कार्यकर्ताको बिचल्ली भएको बताएका थिए । नेकपा प्रचण्ड–माधव समूहले गएको पुस १७ गते धनगढीमा आयोजित सभामा प्रचण्डले आफूलाई महादलालको संज्ञा दिएको भनेको भन्दै नेता भट्टले आपत्ति जनाएका थिए ।
मन्त्री भट्टले नेता डा. भीमबहादुर रावलतर्फ इन्कित गर्दै सम्बन्धित विषय नपढेको, जनता नबुझेको नेता डाक्टर भएपछि उनै डाक्टरलाई बोकेर हिँडेका कारण प्रचण्ड–माधवलाई अहिले झनै बढी समस्या भएको टिप्पणी गरेका थिए । मन्त्री भट्टले आफू प्रचण्डको कार्यकर्ता नभई सहयोद्धा भएको स्पष्ट पारेका थिए ।






