काठमाण्डौ । साधारण सभाबाट पारित भइ आयोजना भएको नेपाली टी–२० लिगको सम्झौता त्रुटिपूर्ण रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । बिहीवार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण रहेको बताएका हुन् ।
चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरेका छन् । तर क्यानले कुनै गलत नियत राखेर सम्झौता नगरेको स्पष्टोक्तिसमेत उनले दिए । अध्यक्ष चन्दले क्यानले पहिलो प्रयास गर्ने क्रममा केही कमी कमजोरी भएको र साझेदार, पार्टनरसँग सम्झौता अनुरुप काम नहुनु दुखद् भएको बताएका हुन् ।
सम्झौताअनुसार काम अघि बढाउन सेभेन थ्री स्पोर्टसलाई दबाब दिन नसक्नु क्यानको कमजोरी भएको पनि उनले स्वीकार गरे । सेभेन थ्री स्पोर्टसलाई दबाब दिन नसकेकै कारण श्रम स्वीकृति ढिला भएको र लिगको दौरान विभिन्न कारणले विवाद हुनु क्रिकेट संघको पनि कम्जोरी रहेको बताए । अध्यक्ष चन्दले नेपाल टी–२० लिगमा सहभागी पाँच फ्रेन्चाइज टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले एकरदुई महिना भित्र नै पाउने जानकारी दिए ।
उनले खेलाडीको सबै रकम चुक्ता गरिसकेको र केही खेलाडीको भुक्तानी छिटै पूरा हुने पनि बताए । यस्तै पुरस्कारको रकम सेभेन थ्री स्पोर्टसले दिने सम्झौता भएको र नदिएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरबाट लिन पहल गर्ने समेत बताए । प्रतियोगिताको दौरानमा अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारीको संलग्न भए कारबाही भोग्न तयार रहेको बताए ।
उनले टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएकोमा पुष्टि भए क्यानले नै कारबाही गर्ने बताए । नेपाली क्रिकेटर आदिल आलम र पूर्वक्रिकेटर मेहबुब आलम स्पट फिक्सिङको आरोपमा पक्राउ परिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुसहित १० जनाविरुद्ध मुद्दा अगाडि बढाएको छ ।
यसैगरी चन्दले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने टोलीमा फर्किने विषयमा नेपालको विद्यमान कानुनले जे अनुमति दिन्छ त्यही अनुसार अघि बढ्ने बताए । उनले आईसीसीसँग सन्दीपको बारेमा छलफल भएको र नेपालको विद्यमान कानुन अनुसार अगाडि बढ्न सुझाव दिएको बताए । यो समाचार उज्यालोमा छ ।






