कास्की । आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकी पाइलट अन्जु खतिवडाका पहिलो श्रीमान दीपक पोखरेलको १६ वर्ष पहिले जहाज दुर्घटनामै निधन भएको आफन्तहरूले बताएका छन् । २०६३ असार ७ गते जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनमा जहाजका पाइलट पोखरेलको निधन भएको अन्जुका आफन्तले बताएका हुन् ।
विराटनगर ५ माइतिघर भएकी अन्जुले श्रीमानको निधन पछि अमेरिकाबाट पाइलट पढेर यति एयरलाइन्समा काम गर्न थालेको विराटनगर ५ का वडा अध्यक्ष सन्तोष न्यौपानेले बताए । न्यौपानेका अनुसार अन्जुको पहिलो श्रीमानपट्टि २२ वर्षकी छोरी रहेकी छन् । यता दोस्रो विवाहपछि भने ७ वर्षको छोरा रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।
विराटनगर माइतिघर भएकी अन्जुले माध्यामिक तहसम्मको शिक्षा विराटनगरबाटै लिएकी थिइन् । उच्च माध्यामिक तहको शिक्षा भने भारतबाट लिएको अन्जुका आफन्त शेखर रेग्मीले जानकारी दिए । अन्जुको हालको घर काठमाण्डौको मैतीदेवीमा रहेको रेग्मीले बताए । अमेरिकाबाट पाइट पढेर फर्किएपछि अन्जुले नेपालमा विमान चलाउन थालेको ७ वर्ष भएको थियो ।
पोखरामा दुर्घटना भएको यतीको एटिआर जहाजमा ६८ जना यात्रु सवार थिए । इन्सटक्टर पाइलट समेत रहेका विमानका मुख्य पाइलट कमल केसीले जहाज उडाएका थिए । चालक दलमा केसीसहित अन्जु, विमान परिचारिका सिर्जना होङचुङ र ओसिन आलेमगर थिए । यो समाचार नागरिक दैनिकमा छ ।






