काठमणडौ । माओबादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारसहित विषयमा सहमति खोज्न निरन्तर एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास धाउन थालेका छन् । एमालेको समर्थनमा तेस्रो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहाल पछिल्लो पाँच दिनमा दुई पटक ओलीनिवास बालकोट पुगिसकेका छन् ।
पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि पुस २७ गते मन्त्रिपरिषद् विस्तारसहित विषयमा छलफल गर्न भन्दै दाहाल ओलीनिवास पुगेका थिए । पुस २८ गते नै मन्त्रि–परिषद्लाई पूर्णता दिँदै कार्यविभाजन गर्ने दुई नेताबीच पूर्वसहमति भएको थियो । तर दाहाल र ओलीबीच मन्त्रालय भागबन्डा र कार्यविभाजनमा सहमति जुट्न सकेन । र, अर्को बैठक गर्नेगरी दुई नेता बालकोटबाट उठेका थिए ।
त्यसबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर मन्त्रिपरिषद्सहित विषय टुंगो लगाउन दाहाल सोमबार बिहान फेरि ओलीनिवास बालकोट पुगे । पाँच घण्टा लामो छलफलपछि दुई नेता प्रतिनिधिसभामा सांसद संख्याका आधारमा मन्त्रालय भागबन्डा गर्ने समझदारीमा पुगेका छन् । दुई नेताबीच सहमति जुटेलगत्तै साँझ सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक बसेको हो ।
विगतमा उनै ओली प्रधानमन्त्री रहेका बेला सत्ता साझेदार दलका निवासमा मात्र होइन, आफ्नै पार्टीका नेताको घरमा पनि जाँदैनथे । तर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहाललाई ओलीले पाँच दिनमा दुई पटक निवासमा बोलाएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि नामलाई लिएर सर्वोच्च अदालतको आदेशपछि तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली दाहालनिवास पुगेका थिए ।
त्यसको अलावा पार्टीभित्र अप्ठ्यारोमा परेपछि ओली नेता वामदेव गौतमनिवास पुगेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पनि ओली एक पटक मात्र बुढानीलकण्ठ पुगेका थिए । आफ्नै र अन्य दलका नेतालाई पनि प्रधानमन्त्रीको सरकारीनिवासमै भेट्ने गरेका ओलीले अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक छन् ।
सो संयन्त्रले नै नीति तथा कार्यक्रम बनाउने र सरकारले कार्यान्वयन गर्ने उनले प्रतिनिधिसभाको पहिलो बैठकमा राखेका थिए । साथै, विगतमा दुई पटक प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमको ओलीले प्रतिनिधिसभा बैठकमा बचाउ गरेपछि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री दाहालका साथै प्रमुख प्रतिपक्षी दल झस्किन पुगेका थिए ।
ओलीले दाहाललाई प्रयोग गरेर फेरि प्रतिनिधिसभा विघटन गर्नसक्ने भन्दै प्रतिपक्षी कांग्रेससहित दलहरूले संविधानको रक्षा र संसद्को पूर्ण कार्यकालका लागि भन्दै प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएका छन् । सोही दिन साझा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने क्रममा ओली प्रधानमन्त्री जस्तो र दाहाल साझेदार दलको हैसियतमा देखिएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।






