रुपनी जि.एम, नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका, हनुमान प्रसाद साहू, सडकको छेऊ अनि उनले ठेलामा चलाउँदै आएको पकौडा पसल । पुष महिना तराईको जाडो अनि तात्तै पाक्दै गरेको पकौडाको स्वाद । त्यही स्वाद चाख्न मानिसहरुको ठेलमठेल भीड ।
सधैं झैं उनले सोमबार बिहानै तेलमा पकौडा तल्दै थिए । उनको ठेलामा पकौडा खान आउनेको ताती नै थियो । पकौडा खान आउनेलाई दैनिक निस्कने पत्रिकाको चिर्केटोमा ग्राहकले रोजे जस्तै र भने जत्तिकै पकौडा दिन उनका छोरा जितेन्द्रलाई भ्याई नभ्याई हुन्छ ।
उमेरले ६ दशक पार गरि सकेका हनुमान अहिले पनि निकै फुर्तिलो भएर तातिएको तेलमा थरीथरीका पकौडा पकाउने गर्छन् । उनले पकाएका तिनै थरी थरीका तरकारीका पकौडाको स्वाद चाख्नेहरुको लर्को लाग्ने गर्छ । पकौडा र उनको उमेरसंगको एउटा बेग्लै सम्बन्ध छ ।
२२ वर्षे ठिटो हुँदा देखि नै चनाको बेसनमा प्याजका टुक्रालाई मिसाउँदै आएको हुनाले पनि उनी र पकौडा बीच अन्योन्याश्रीत सम्बन्ध छ भन्न रुचाउँछन् हनुमान । हनुमानले विगत ३५ वर्षदेखि सोही ठाउँमा ठेलामा पकौैडा पकाउँदै आई रहेका छन् । त्यही पकौडाले धानेको छ उनको १० जनाको परिवारलाई ।
उहिले उहिले बिहानै उठेर घरधन्दा सम्हाल्ने महिला जस्तै उनी पनि आफ्नो ठेला सम्हाल्न उठिसकेका हुन्छन् । मौसम अनुसारको तरकारीहरुलाई चनाको बेसनमा डुबाएर स्वादिलो पकौडा बनाउने उनको बायाँ हातको खेल भई सकेको छ । उनले पकाएको पकौडा खान टाढा टाढाबाट मानिसहरु आउने गर्छन् भने बाटो हिंड्ने बटुवाहरुले पनि साधन रोकेर पकौडाको स्वाद चाख्छन् अनि पोको पारेर घरसम्म लाने गर्छन् ।
‘पढाई लेखाई छैन, न त प्रशस्त सम्पत्ति नै छ, केही गरेर पेट त पाल्नै पर्यो । अनि ठेलामा पकौडा बनाउन थालें ।’ उनले भने । दिनसंगै उमेर पनि ढल्किंदै गरेको बाबुलाई सघाउन उनको कान्छा छोरा जितेन्द्र ठेलामा ग्राहकलाई पकौडा पस्कने गर्छन् । दिनमा झण्डै तीन चार सय जनाले उनको ठेलामा पाकेको पकौडा खाने गरेको हनुमानले बताए ।
उनले भने,‘ठेलामै पकाए पनि सडकको छेऊमा पकाउँछु । बाटो हिंड्ने देखि छिमेकी र नजिकै गाउँ पालिका भएको हुनाले होला दिनमा झण्डै तीन चार सय जनालाई पकौडा बेच्ने गरेको छु ।’ आर्थिक अवस्था बलियो नभएका हनुमानले शुरुशुरुमा आफ्नो ठेला पसल चल्दैन कि भन्ने सुर्ताएको पनि बताए ।
दिन बित्दै जान्छ । समय पनि उस्तै गरी घर्किंदै जान्छ । दिन र समयको बीचमा हनुमानले तल्ने गरेको पकौडाको काहानी भने भोली फेरी दोहोरिन्छ उस्तै गरी जसरी आज शुरु भएको थियो । बिहान झिस्मिसेमै सडकको छेऊमा ठेला लगाउने र साँझ अध्यारोले बास गर्नै लाग्दा ठेला स्याहर्ने हनुमानको दैनिकी नै बनेको छ ।
देशलाई आर्थिक मन्दिले चपेटामा पारी रहंदा अन्य सामानको भाउ आकाशिएको छ तर हनुमानले यो जाडोमा कठ्यांग्रिंदै पकाउने गरेको पकौडाको मूल्य भने जस्ताको त्यस्तै नै छ । त्यसैले पनि होला ग्राहक आज पनि त्यही सानो ठेलामा पकौडा खान भीड लाग्ने गर्दछन् । सायद उनले ग्राहको मन बुझेको हुनुपर्छ ।






