रुपनी जि.एम, बाँके । ‘सबैले भन्छन् पुलीस भन्दा आर्मी बन् भनेर तर मलाई नेपाल प्रहरी बन्ने ईच्छा छ । ब्याचलर पास गरेर सिधै नेपाल प्रहरीको ईस्पेक्टरमा फाईट गर्न चाहान्छु ।’ यो भनाई हो नगर प्रहरी दुर्गा थापाको । उनी हाल बाँकेको कोहलपुर नगरपालिकाको नगर प्रहरी जवानका रुपमा जागीरे छिन् ।
उमेरले नाबालिग नै रहेकी दुर्गा कोहलपुर स्थित कोहलपुर मोडेल कलेजमा बिबिएस प्रथम वर्षमा अध्ययनरत छिन् । उनको भनाई अनुसार उनलाई नेपाल प्रहरी बन्नकोलागि नगर प्रहरी एउटा आधार हो । जस्ले भोली पुलिस बन्दा शारीरिक रुपमा सहयोग पुर्याउने छ ।
उनले स्थानिय सरकारको नगर प्रहरीका रुपमा जागिर खाएको भर्खरै मात्र हो । पढ्दै जागिर गर्दै गरेकी दुर्गाको काँधमा घर सम्हाल्ने सम्पुर्ण जिम्मेवारी आई लागेको छ । हुन त उनी घरकी कान्छि छोरी हुन् । तर घरको जेठो सन्तानले जस्तै गरेर आफ्नो सानो परिवारलाई सम्हालेकी छन् ।
कान्छी छोरी त्यस्मा पनि सानो उमेरकी दुर्गाको जीवनमा घर र परिवारको जिम्मेवारी तब आई लाग्यो जब उनी नगर प्रहरीका लागि छनौट भएर तालिम गरी रहेकी थिईन् र तालिमको सायद त्यो अन्तिम दिन थियो होला जुन दिन उनको बुवाको निधन भएको दुःखद खबर उनलाई तालिम दिईरहेकी गुरु आमाबाट सुन्न परेको थियो ।
त्यो पल उनको जीवनको सबैभन्दा स्तब्ध पल थियो । साथै त्यो पल उनको जीवनको लडेर उठ्नु पर्छ भन्ने अठोटको एउटा अर्को पल पनि थियो । दुर्गाले ती दुबै पलमा आफुलाई सम्हाल्न सकिन् । समयले दिएको त्यो नमिठो चोटको अनुुभूतिलाई दुर्गाले आफ्नो शब्दबाट बताउन सकिनन् तर मलिन मुहारमा मुस्कुराई रहेको ओठको भित्री भागमा लुकेको भावबाट प्रष्ट झल्किएको थियो कि उनको मनमा कति पिडा लुकेको छ भन्ने कुरा ।
सबै सामू आफुलाई बलियो बनाउँदै नगर प्रहरीको जिम्मेवारीलाई सम्हाली रहेकी दुर्गाको जीवन भोगाईले यति सानै उमेरमा खारीएको सुन जस्तै बनाउँदै लगिरहेको छ । नगर प्रहरीको माध्यमबाट भविष्यमा नेपाल प्रहरी बन्नका लागि आधारशिला बनाउँदै छिन् उनी ।
बुवाको आकस्मिक निधनले उनको जीवनमा अर्कैं मोड ल्याएता पनि सायद सानै उमेरमा उनलाई परिपक्क बनाउनकालागि त्यो एउटा पाटो थियो । हेर्दा मायालु, राम्री, ईमान्दार अनि हँसिली दुर्गालाई जीवन र समयले सानै उमेरमा जे उपहार दियो त्यसलाई स्वीकार गरेर अगाडी बढी रहेकी छन् उनी ।
४ जनाको परिवारमा बुवाको निधन पश्चात अहिले उनीसंग उनकी आमा र दिदी छन् । उनै आमा र दिदीको लागि दुर्गाको काँध बुवाको जस्तै बलियो बनेको छ । दैनिक झण्डै १२ किलोमिटर सार्वजनिक गाडीमा चढेर उनी घरदेखि कार्यालय जाने र आउने गर्छिन् । पढाई राम्रो भएको हुनाले उनले कम्प्युटर अप्रेटरका रुपमा नगरपालिकाको नगर प्रहरी शाखामा काम गरिरहेकी गर्छिन् ।
नगर प्रहरीको तालिम लिंदै गर्दा उनलाई नेपाल प्रहरीकै तालिम लिएको जस्तो महसुस भएको अनुभव सुनाएकी थिईन् । ‘मेरो लक्ष्य नै पछि गएर नेपाल प्रहरी बन्ने भएर होला तालिमको दौडानमा मलाई म नेपाल प्रहरीकै तालिममा छु जस्तो लागि रहेको थियो ।’ उनले भनिन्,‘हामीलाई पेस्तोल मात्रै चलाउन सिकाईएन बाँकी त तालिम सबै उस्तै थियो ।’
हाँस्ने, खेल्ने, साथी भाईहरुसंग रमाईलो गरेर जीवनलाई सुखसयलको पाटोमा भुलाउने उमेरमा दुर्गाले घरको जिम्मेवारी सम्हालेको देखेर उनका सहकर्मी अन्य नगर प्रहरी र प्रहरीका प्रमुखहरु समेत दुर्गाको तारिफ गर्न पछि पर्दैनन् । उनका सहकर्मी मात्रै हैन दुर्गाको तारिफमा नगर प्रमुख पुर्णप्रसाद आचार्य समेत पछि पर्दैनन् ।
‘दुर्गा केवल एउटा नगर प्रहरी मात्रै नभई तालिमका दौडान बेस्ट अर्वाड प्राप्त गर्न सफल एक कुशल र कर्मठ नगर प्रहरी हुनुहुन्छ ।’ नगर प्रमुख आचार्यले भने,‘छोरी होस् त दुर्गा जस्तो । उहाँलाई हामीले नगर प्रहरीका रुपमा छनौट गरेकोमा सिंगो पालिका नै गौर्वान्वित छौं । र उहाँको अझैं उज्जवल भविष्यको कामना गर्दछौं ।’






