काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै शेयरबजार लगातार उच्च अङ्कले बढिरहेको छ । विभिन्न बिदाका कारण पुसको ७ गतेपछि ११ गतेसम्म शेयर कारोबार हुन पाएको थिएन । पुसको ७ गते शेयर बजार परिसूचक नेप्से १ हजार ८ सय ६७ बिन्दुमा रहेको थियो ।
तर नयाँ सरकार गठन भएको पहिलो दिन ११ गते नै बजार ५६ अङ्कले बढ्यो । १८ सय ६७ बिन्दुमा रहेको बजारले १९ सयको बिन्दु पार गर्यो । १२ गते पनि शेयरबजार उच्च अङ्कले नै उकालो लाग्यो । १२ गते बजार ५९ अङ्कले बढ्यो भने तीन अर्ब ८८ करोड रुपैयाँको कारोबार भयो ।
१३ गते बजारमा सामान्य करेक्सन देखियो । १३ गते बजार १२ अङ्कले घट्यो भने दुई अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । १४ गते बजार फेरि ५६ अङ्कले बढेर दुई हजार बिन्दुभन्दा माथि पुग्यो । १५ र १६ गते बिदाका कारण कारोबार भएन ।
१७ गते आइतवार बजार १७ अङ्कले र १८ गते झण्डै १२ अङ्कले बढ्यो । १८ गते मङ्गलवार बजारमा सामान्य करेक्सन देखियो । शेयर बजार मङ्गलवार तीन अङ्कले घट्यो । अब बजार करेक्सनको बाटोमा जान्छ भन्ने अनुमानकाबीच २० गते बुधवार शेयरबजार फेरि झण्डै ६५ अङ्कले बढेको छ ।
नयाँ सरकार गठन भएपछि ८ दिन कारोबार हुँदा बजार दुई सय ५८ अङ्कले बढिसकेको छ । ८ दिन कारोबार भएकोमा ६ दिन नेप्से बढेको छ भने २ दिन सामान्य घटेको छ । कारोबार रकममा पनि सुधार हुँदै गएको छ । शेयरबजारले अर्थमन्त्री बनेको बेला एमालेका नेता विष्णु पौडेललाई निकै रुचाएको विगत छ ।
पौडेल अर्थमन्त्री बन्दा शेयरबजारले दुई पटकसम्म रेकर्ड बनाएको छ । २०७२ सालमा विष्णु पौडेल अर्थमन्त्री बन्दा शेयरबजार ‘बुलिस ट्रेन्ड’ मा थियो । २०७२ सालमा बजारले १८ सय ८१ बिन्दुको कीर्तिमान कायम गरेको थियो । त्यसपछि एमालेकै अर्थमन्त्री बने पनि बजारले रुचाएन ।
एमालेले २०७४ सालमा केपी शर्मा ओलीको नेतृत्वमा युवराज खतिवडालाई अर्थमन्त्री बनाएको थियो तर बजारले रुचाएन । ६ वर्षसम्म बजारले अर्को रेकर्ड बनाउन सकेन । तर २०७७ सालमा विष्णु पौडेल पुनः अर्थमन्त्री बनेर आएपछि २०७८ सालमा बजारले ३२ सय बिन्दुको नयाँ कीर्तिमान बनायो ।
अहिले पनि विष्णु पौडेल अर्थमन्त्री बनेपछि बजार बढेको बढ्यै छ । पूर्व बैंकर तथा शेयर बजारका विश्लेषक अनलराज भट्टराई नयाँ सरकारप्रति नागरिकको भरोसा रहेको र आर्थिक सूचक केही सकारात्मक हुँदा बजार बढेको बताउँछन् ।
बजार बढ्नका लागि आर्थिक सूचक राम्रो भएर मात्रै नपुग्ने भएकाले विगतमा आर्थिक अवस्था राम्रो हुँदा पनि शेयर बजार बढ्न नसकेको उहाँको भनाइ छ । तर अहिले आर्थिक सूचकहरू धेरै राम्रो नभए पनि सरकारप्रतिको भरोसा र मनोबलकै कारण बजार बढ्न थालेको भट्टराईले बताए ।
‘अहिले अर्थतन्त्रका बाह्य सूचक केही सुधार भए पनि आन्तरिकतर्फको सूचक खासै राम्रो देखिएको छैन तर लगानीकर्ताको मनोबल उच्च देखियो । विशेष गरेर नयाँ सरकारका अर्थमन्त्रीलाई लगानीकर्ताले पहिलेदेखि नै रुचाउँदै आएका थिए अहिले पनि त्यै देखियो’, भट्टराईले भने ।
तरलता अभावको समस्या बिस्तारै समाधान हुँदै गएको, ब्याजदर घट्ने सम्भावना रहेको, प्रधानमन्त्री र अर्थमन्त्रीले पटक पटक अर्थतन्त्रको बारेमा चासो राखेका कारण पनि शेयरबजारमा लगानी गर्नेहरु केही हदसम्म ढुक्क बनेको देखिएको उनको भनाइ छ ।
‘लगानीकर्तामा अहिले बजारप्रति मनोबल बढिरहेकाले नेप्सेको उकालो यात्रा जारी रहने सम्भावना छ, अहिले लगानी गर्न उत्तम हुन्छ भन्ने मलाई लागेको छ तर लगानीकर्ता आफैंले उचित मूल्याङ्कन गरेर निर्णय लिनुपर्छ,’ अनलराज भट्टराईले भने ।
बजार घट्दा नआत्तिने र बढ्दा नमात्तिने लगानीकर्ताले जहिले पनि शेयरबजारबाट कमाउने सक्ने उहाँको भनाइ छ । ‘धेरै नाफाको लोभ गर्नु हुँदैन, बढेको बेला धेरै होल्ड नगरि किनबेच गरिरहनुपर्छ, घटेको बेला पनि किनेर महँगोमा किनेको शेयरको औसत मूल्य कम गर्नुपर्छ,’ भट्टराईले सुझाव दिए ।
बजार बढेको बेला धेरै ढुक्क भएर आफूसँग भएको सबै पैसा लगानी गर्दा बजार एकैपटक ओरालो लाग्यो भने समस्या हुने भएकाले आफूसँग भएको रकमको ५० प्रतिशत हाराहारी पैसा मात्रै शेयरबजार लगानी गर्न भट्टराईको सुझाव छ । उज्यालोबाट ।






