नेपालगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रमुख सुमन धितालले पौष्टिक आहारपुरक खाद्य पदार्थलाई ट्याब्लेटका रुपमा प्रयोग नगरी खानाबाटै प्रयोग गर्दा राम्रो बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाण्डौको आयोजना र फुड न्युट्रासिउटिकल कस्मासिउटिकल आसोसियसन अफ नेपालको सहकार्यमा नेपालगंजमा आज शनिबार एक दिने आहारपुरक खाद्य पदार्थ नियमन सम्बन्धि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
विभागका प्रमुख धितालले विभागद्धारा मल्टिभिटामिन लगायतका आहारपुरक पदार्थको नियमन गर्दै आएको बताए । यो फुड न्यूट्रासिटिकल्स समुहमा पर्ने जो औषधि नभई आहारपुरक खाद्य भएकोले आहारपुर खाद्य पदार्थ नियमन ऐन २०७२ जारी गरी नियमन गर्न सुरु गरिएको जानकारी दिए । उनले दिएको जानकारी विभागमा ११ वटा उद्योगले अनुज्ञा पत्र लिएर उत्पादन समेत सुरु गरेका छन । भने २ हजार २ सय जाति उत्पादनको गुणस्तर र आवश्यक प्रकृया पुरा गरी विभागमा रजिष्टर्ड गरी विक्रि बितरण सुरु गरिएको छ ।
त्यसैगरी कार्यक्रममा खाद्य आयत निर्यात गुणस्तर प्रमाणीकरण बाँकेका प्रमुख सन्तोष दाहालले पछिल्लो समय ट्याब्लेटका रुपमा आहार पुरक खाद्य पर्दाथको प्रयोग गर्ने प्रचलन बढेको बताए । उनले यो प्रचलन बढ्नुको कारण एउटा शारीरिक ब्याम गर्नेहरुको जमातलाई बताएका छन् भने अर्को खाने कुरामा पाईने पौष्टिक आहारको जानकारी नभएरै खाना खाई रहेको जमातलाई बताएका छन् । उनले भने,‘पछिल्लो समय ट्याब्लेटका रुपमा खाद्य पर्दाथमा पाईने पौष्टिक आहारको प्रयोग दुई थरी समूहले गर्ने गरेका छन् । एक थरी जीम गरेर शरीर बनाउनेहरुले ट्याब्लेटको प्रयोग गर्ने गर्दछन् भने अर्को थरी खाना त खाने तर कुन खानाबाट के पौष्टिक आहार पाईन्छ भन्ने पत्तो नै नपाएर खानेहरुले ट्याब्लेटको प्रयोग गर्ने गरी रहेका छन् ।’
दाहालका अनुसार विशेषगरी खानाबाट पाईने भिटामिन बी, भिटामीन सी, भिटामीन डी जस्ता पौष्टिक आहारहरुलाई हिजो आज ट्याब्लेटको माध्यमबाट प्रयोग गरिएको छ । यो विषयमा दाहाल भन्छन्,‘ट्याब्लेटको माध्यमबाट पौष्टिक आहारको प्रयोग गर्नु राम्रो हो तर यो विशेष परिस्थितिमा मात्रै गरिनु पर्छ र तर पछिल्लो समय यो सामान्य बन्दै गईरहेको छ ।’ आहारपुरक खाद्य पदार्थलाई औषधिको रुपमा भन्दा पौष्टिक आहार जो मानव स्वास्थ्यको लागि अति नै आवश्यक आहारको रुपमा प्रयोगमा आउने बाताबरण निर्माण गर्न आवश्यक रहेको भन्दै उनले यस विषयमा सबैलाई सजग रहन पनि सुझाव दिए ।
खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता भन्ने मूल नारा सहित सम्पन्न भएको उक्त अन्तरकृया कार्यक्रममा फुड न्यूट्रासिटिकल्स समुहमा पर्ने विभिन्न खाले मल्टीभिटामिनहरु औषधि विभागले समेत आफ्नो कार्यक्षेत्र अन्तरगत पर्ने भन्दै अनगुमनका क्रममा सास्ती दिने गरेको तथा चिकित्सकले पनि फुड न्यूट्रासिटिकल्स अन्तरगत उत्पादन गरिएका मल्टी भिटामिन लगायतको पे्रस्कृप्सन नगर्ने गर्दा आहरु मर्कामा पर्दै आएको फुड न्यूट्रासिटिकल्स तथा कस्मासिउटिकल व्यवसायिहरुको गुनासो पोखेका थिए ।
खद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख अमित भूषण सुमनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत खाद्य निरिक्षक एकराज बुढाथोकीले र आयात तथा निर्यातको बारेमा खाद्य आयात निर्यात तथा गुण प्रमाण्किरण कार्यालयका प्रमुख सन्तोष दाहालले आ–आफ्नो प्रस्तुती गरेका थिए । कार्यक्रममा फुड न्यूट्रासिटिकल्स तथा कस्मासिउटिकल लुम्बिनी प्रदेश अध्यक्ष विजेन्द्र ठकुरी, सचिव लबराज श्रेष्ठ, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी, सचिव कमल डाँगी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।










