काठमाण्डौ । सत्ता साझेदार प्रमुख तीन दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादीदी) नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । सरकारको नेतृत्वसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभापतिसहित मन्त्रिमण्डलको विषयमा तीन दल आन्तरिक र त्रिपक्षीय छलफलमा जुटेका हुन् ।
संसद्को पहिलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने तयारी गरिरहँदा माओवादी केन्द्रले पनि सरकारको नेतृत्वमा दाबी गरिरहेको छ । तर संसद्को गणितलाई दृष्टिगत गरेर कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नु प्राकृतिक र स्वाभाविक हुने नेताहरूको धारणा छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पहिलो पार्टीको हैसियतले कांग्रेसले सरकारको नेतृत्व गर्नु स्वाभाविक हुने बताए ।
उनले भने,“संसद्मा कुन पार्टीको कति गणित छ भनेर हेर्नुपर्छ । साझा सहमतिमै सरकारको नेतृत्वको विषय टुङ्गो लाग्छ । सहमतिपूर्वक प्रधानमन्त्री को बन्ने भन्ने विषय टुङ्गोमा पुयाउनेतर्फ शीर्ष नेताहरू छलफलमा हुनुहुन्छ ।” कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनको नेतृत्वकर्ता र संसद्को पहिलो दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार निर्माण हुने बताए ।
उनले भने,“सरकारको नेतृत्वको सवालमा शीर्ष नेताहरू छलफलमा हुनुहुन्छ। सहमतिको बिन्दु पहिल्याउनुहुन्छ नै । तर संसद्को पहिलो दलका रूपमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नु प्राकृतिक हुने भएकाले हाम्रो पार्टीले त्यही तयारीका साथ संवाद अघि बढाएको छ ।” माओबादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको बताए ।
उनले भने,“कुरा मिलिसकेको छैन । कांग्रेसले राष्ट्रपति लिने भए प्रधानमन्त्री छोड्नुपयो, राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कसरी लिन मिल्छ र ?” ‘गणतन्त्रको गरिमा राख्ने राष्ट्रपति’ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको तेस्रो राष्ट्रपति चयनको विषयमा पनि छलफल र दलहरूभित्र गृहकार्य भइरहेको छ । महामन्त्री शर्माले गणतन्त्रको गरिमा राख्न सक्ने व्यक्ति राष्ट्रपति बन्नुपर्ने कांग्रेसको धारणा रहेको बताए ।
उहाँले भन्नुभयो, “राष्ट्रपति कांग्रेसबाटै बन्नुपर्छ भन्ने धारणा हाम्रो पार्टी राख्दैन, राष्ट्रपति कस्तो बन्ने भन्ने विषयमा प्रष्ट धारणा राख्छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गरिमा राख्न सक्ने व्यक्ति राष्ट्रपति बन्नुपर्छ। कांग्रेसको धारणा यही हो ।” कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले राष्ट्रपति पदमा निर्विवादित चरित्र भएका व्यक्तिलाई ल्याएर सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताए । उनले गठबन्धनमा पहिले कांग्रेसले सरकारको नेतृत्व गर्ने र दोस्रो कार्यकाल माओवादी केन्द्रले पाउने बताए । गोरखापत्र






