काठमाण्डौ । छिमेकी देश भारत र चीनमा फेरि कोरोनाको सङ्क्रमण फैलिन थालेको छ । केही दिनदेखि चीनको राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना सङ्क्रमण बढेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो ।
चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले भरिन थालेका समेत जनाएको छ । त्यस्तै भारतमा पनि सङ्क्रमणको जोखिम उच्च भएको छ । राजधानी नयाँ दिल्लीमा दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएको थियो ।
तर जोखिम बढेसँगै दिल्लीमा पुनः मास्क लगाउन अनिवार्य गरिँदैछ । चीनमा कोरोना बढ्दै गएपछि भारतले पनि उच्च सतर्कता अपनाउने तयारी गरेको हो । भारतमा अहिले दैनिक औसतमा १ सय ५३ जना सङ्क्रमित थपिने गरेका छन् । चीन, जापान, दक्षिण कोरिया, अमेरिका, फ्रान्सलगायतका देशमा पनि पछिल्लो समय सङ्क्रमण बढेको छ ।
छिमेकी भारत तथा चीनसहित अरु देशमा पनि सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले हिजो विज्ञप्ति नै निकालेर नेपालमा अहिले सङ्क्रमण कम भए पनि छिमेकी देश भारत तथा चीनमा नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको जनाएको छ ।
छिमेकी देशमा बढिरहेको सङ्क्रमण र नयाँ भेरियन्टबारे सजग रहन आवश्यक रहेको र त्यसै अनुसार स्वास्थ्य मन्त्रालयले निगरानी र अरू सरकारी निकायसँग समन्वय बढाइएको मन्त्रालयका प्रवक्ता डाक्टर सञ्जयकुमार ठाकुरले बताएका छन् । कोरोनाको नयाँ भेरियन्ट ‘बीएफ ७’ चीनमा तीव्र गतिमा फैलिएको तथा भारतका पनि केही ठाउँमा देखिएको तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो पटक विदेशबाट नेपाल आएका ४८ जना व्यक्तिको नमुना परीक्षण गरिएकोमा नयाँ भेरियन्ट नदेखिएको उहाँको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड रोकथाम तथा नियन्त्रणका लागि यसअघि लागू गरेका जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले मास्कको प्रयोग गर्न, हातको सरसफाइमा ध्यान दिन, भौतिक दूरी कायम राख्न तथा खोप नलगाएको भए लगाउन र पहिलो र दोस्रो मात्रा खोप लिएको तर बुस्टर मात्रा छुटेको भएमा बुस्टर मात्राको खोप लिन पनि आग्रह गरेको हो ।
मन्त्रालयले नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा रहेका हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाले स्क्रिनिङ, निगरानी, सतर्कता बढाउन तथा आवश्यक तयारीमा रहन पनि आग्रह गरेको डा. ठाकुरले जानकारी दिए ।






