बाँके, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाद्धारा १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित भएका छन् । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सोमबार आयोजित एक कार्यक्रमका बीच नेपालगञ्ज उपमहानगरपालिकाद्धारा १३ जना स्वास्थ्य स्वयंसेविका सम्मानित भएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन् । ११ जनालाई उनीहरुको कामको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको छ भने ६० बर्ष उमेर पुगेर अवकाश पाएका २ जनालाई सम्मानसहित विदाई गरिएको हो ।
वडा नम्बर ९ की शिला घर्ती मगर जिसी, वडा नम्बर १३ का शारदा सिंह ठाकुर, वडा नम्बर १४ की विनिता गोडिया, वडा नम्बर १५ की सकुन्तला नेपाली, वडा नम्बर १७ की सरस्वती बाहुन, वडा नम्बर १८ की रामजानकी काँदु, वडा नम्बर १९ की विन्देश्वरी जैसवाल, वडा नम्बर २० की सुशिला यादव, वडा नम्बर २१ की किस्मतुल भुजवा, वडा नम्बर २२ की सुनिता राढ र वडा नम्बर १६ की साल्मा बेगम राईलाई सम्मान गरिएको हो ।
यस्तै ६० बर्ष पुगेर अवकाश पाएका वडा नम्बर २० की रामप्यारी थापा र वडा नम्बर १७ की सावित्री कहारलाई विदाईसहित सम्मान गरिएको छ । अवकाश पाउनुभएका थापा र कहारलाई जनही ७० हजार रुपैयाँसहित विदाई गरिएको छ । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले जनताको घर आँगनमै पुगेर सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको जति नै प्रंशसा गरेपनि कम हुने बताए ।
उनले स्वास्थ्य स्वयंसेविकाहरुलाई दिने सेवा सुविधा र सम्मानका लागि नेपालगञ्ज उपमहानगरपालिका गम्भीर रहेको उल्लेख गरे । उनले उपमहानगरपालिकाले कार्यदल नै बनाएर स्वास्थ्य स्वयंसेविकाहरुलाई दिन सकिने सेवा सुविधा तथा समस्या समाधानका लागि काम गरिरहेको जानकारी गराउँदै मासिक २५ सय रुपैयाँका दरले पारिश्रमिक दिने गरी बजेट विनियोजन भइसकेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति थियो । नेपालगञ्ज उपमहानगरपालिकामा १६८ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।






