काठमाण्डौ । निर्वाचन भएको एक साता बितिसक्दा पनि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ खसेको कुल मत संख्या सार्वजनिक गर्न सकेको छैन। मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभामा खसेको समानुपातिक मतको कुल तथ्यांक आयोगले सार्वजनिक गर्न नसकेको हो । देशभरिबाट प्राप्त समानुपातिक मतका आधारमा राजनीतिक दलको सिट निर्धारण हुने भएकाले कति मत खस्यो भन्ने विषयमा धेरैको चासो बढेको छ ।
कुल सदर मतका आधारमा ३ प्रतिशतभन्दा कम ल्याउने राजनीतिक दलको मत खेर जाने भएकाले पनि समानुपातिक मतबारे आम चासो बढेको हो । निर्वाचन आयोगले प्रत्यक्षतर्फ ६१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ तर समानुपातिकतर्फ कति मत खस्यो भनेर केही पनि बताएको छैन । आइतबार साँझसम्म समानुपातिकतर्फको ९० लाखभन्दा बढी मत गनिसक्दा खसेको कुल मतबारे आयोगले कुनै तथ्यांक सार्वजनिक गरेको छैन ।
यसपटक कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ७५० भएको आयोगले जनाएको छ । कुल मतदाताको ६१ प्रतिशत १ करोड ९ लाख ७३ हजार एक सय ३७ हुन आउँछ। समानुपातिकमा भने प्रत्यक्षतर्फभन्दा बढी मत खसेको छ । किनकि निर्वाचनमा खटिएका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेलमा रहेका कैदीबन्दीले समेत समानुपातिकमा मत खसाल्ने मौका पाएका थिए ।
त्यसकारण पनि समानुपातिकमा प्रत्यक्षतर्फ भन्दा बढी मत खसेको हो। तर अहिलेसम्म यति मत खस्यो भनेर आयोगले तथ्यांक सार्वजनिक गरिसकेको छैन । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले सबै मतगणना नभएसम्म तथ्यांक सार्वजनिक गर्न सम्भव नहुने बताए । ‘यकिन तथ्यांक सबै मतगणना भइसकेपछि मात्रै आउँछ। कुनै पनि जिल्लाको परिणाम तलमाथि भएको हुन सक्ने भएकाले समानुपातिकतर्फ खसेको मत तथ्यांक सार्वजनिक नगरिएको हो,’ उनले भने, ‘अपडेट भइरहेको छ ।
गणना भएका जिल्लाको मात्रै तथ्यांक सार्वजनिक गर्नुले कुनै अर्थ पनि राख्दैन ।’ उनका अनुसार प्रत्यक्षतर्फ र समानुपातिकमा ६१ प्रतिशत अनुमानित हो । सबै मतगणना भइसकेपछि मात्रै कुल खसेको मतको तथ्यांक आयोगले सार्वजनिक गर्ने उनले स्पष्ट पारे । निर्वाचन आयोगले आइतबारसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार समानुपातिकतर्फ देशभरिबाट एमालेले २४ लाख ८८ हजार बढी मत प्राप्त गरेको छ ।
दोस्रोमा रहेको कांग्रेसले २३ लाख ६३ हजार बढी मत ल्याएको छ । समानुपातिकतर्फ तेस्रो स्थानमा माओवादी केन्द्रले १० लाख ३८ हजार बढी मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५० हजार बढी मत ल्याएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३८ हजार बढी मत ल्याएको छ भने जनता समाजवादी पार्टीले ३ लाख ११ हजार बढी समानुपातिक मत ल्याएको छ ।
नेकपा एकीकृत समाजबादी (नेकपा एस) ले समानुपातिकतर्फ २ लाख ४५ हजार बढी मत ल्याएको छ । प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एसले समानुपातिकतर्फ हालसम्म गणना भएको सदर मतको ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएको छैन । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना हुन सकेको छैन ।
कसको कति सिट आउला ?
प्रतिनिधिसभामा ११० सिट समानुपातिकतर्फबाट निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था छ । दलहरूले समानुपातिकका लागि यसअघि नै निर्वाचन आयोगमा बन्दसूची बुझाइसकेका छन् । सोही बन्दसूचीका आधारमा समानुपातिक पद्धतिबाट ३३ प्रतिशत महिला पुग्नेगरी दलहरूले संसद्मा प्रतिनिधित्व गराउनुपर्नेछ ।
कुन दलले कति सिट ल्याउँछन् भनेर धेरैका लागि चासोको विषय बनेको छ । समानुपातिकतर्फ आइतबारसम्म गणना भएकोे मत हेर्दा ६ दलले ३ प्रतिशत कटाएका छन् । ६ वटा दलले पाएको मतलाई शतप्रतिशत मान्दा प्रतिनिधिसभामा एमालेले ३५, नेपाली कांग्रेसले ३४, माओबादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १५ सिट पाउने अनुमान गरिएको छ । त्यसैगरी राप्रपाले ८ र जनता समाजवादीले ४ सिट समानुपातिकतर्फ ल्याउन सक्ने देखिन्छ ।
सिट बाँडफाँट आधार
दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रका माध्यमबाट सिट संख्या निर्धारण हुनेछ । राजनीतिक दलहरूले प्राप्त गर्ने समानुपातिकतर्फको मतबाट प्रतिनिधिसभामा ११० जना सदस्य निर्वाचित हुन्छन् । समानुपातिकतर्फ दलले ल्याएको सदर मतको अनुपातमा सिट बाँडफाँट हुने व्यवस्था छ। समानुपातिक प्रणालीमा देशको कुल भूभागलाई एक निर्वाचन क्षेत्र मानिन्छ ।
त्यसअन्तर्गत मतदाताले देशभरिबाट राजनीतिक दललाई मत दिन्छन् । दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रको माध्यमबाट समानुपातिक उम्मेदवारका लागि दलको सिट संख्या निर्धारण हुन्छ । कुल सदर मतको ३ प्रतिशत कटाउने दलहरूले प्राप्त गरेको सबै मतलाई शतप्रतिशत मानेर ११० ले भाग गर्दा कुन दलको भागमा जति प्रतिशत हुन आउँछ, सोही आधारमा सिट संख्या निर्धारण हुन्छ ।
प्रतिनिधिसभाका लागि कुनै ‘क’ दलले प्रत्यक्षतर्फबाट कम्तीमा एउटा सिट जितेको र समानुपातिकमा ३ प्रतिशतभन्दा कम मत प्राप्त गरेको खण्डमा उसले संसद्मा प्रवेश पाए पनि राष्ट्रिय दलको मान्यता भने पाउन सक्दैन । त्यस्तो स्थितिमा समानुपातिकमा ‘क’ दलले पाएको ३ प्रतिशतभन्दा कम मतको कुनै गणना हुँदैन । कुनै ‘ख’ दलले प्रत्यक्षतर्फ एक सिट पनि नजितेको तर समानुपातिकमा ३ प्रतिशतभन्दा बढी मत ल्याएको खण्डमा पनि राष्ट्रिय दलको मान्यता दिइन्न ।
तथापि समानुपातिकबाट भागमा परेको संख्यामा सिट लिएर संसद् प्रवेशको अवसर भने प्राप्त हुन्छ । कुनै ‘ग’ दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेन र समानुपातिकतर्फ पनि ३ प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उक्त दलको सबै मत खेर जान्छ । अर्थात्, उसले पाएको मतको सिट बाँडफाँटका लागि कुनै गणना हुँदैन । प्रदेशसभामा भने समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्न दलले ३ प्रतिशतको आधा अर्थात् १.५ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ ।
कुल सदर मतका आधारमा समानुपातिकतर्फको सिट बाँडफाँट हुने व्यवस्था छ। २०७४ सालमा समानुपातिकतर्फ ९५ लाख ८ हजार १४४ मत सदर भएको थियो । खसेको मत र दलहरूले ल्याएको मतलाई हेर्दा १० प्रतिशत मत बदर भएको थियो । नागरिक दैनिकबाट







