एजेन्सी । फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा देश अन्तिम १६ मा पुग्नेछन् । उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे आयोजक देश कतार र इक्वेडरबीच हुँदैछ ।
विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् । समूह ुएु मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह ुबीु मा इङ्ल्यान्ड, इरान, अमेरिका र वेल्स, समूह सी मा अर्जेन्टिना, साउदी अरब, मेक्सिको र पोल्यान्ड र समूह ुडीु मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिया रहेका छन् । यस्तै, समूह ई मा स्पेन, कोस्टारिका, जर्मनी र जापान, समूह एफ मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया, समूह जी मा ब्राजिल, सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुन तथा समूह एच मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् ।
फाइनल खेल पुस ३ गते हुनेछ । विश्व कप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो । कतारले १२ वर्षअघि विश्व कप आयोजनाको जिम्मेवारी पाएको थियो । फिफा विश्व कपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्व कप हुन लागेको हो । यसअघि जुन–जुलाईमा विश्व कप हुँदै आएको थियो । सन् १९३० देखि सुरु भएको विश्व कपमा अहिलेसम्म ८ वटा देशले मात्रै उपाधि जितेका छन् ।
हमाद विमानस्थलबाट बाहिर निस्कनेबित्तिकै सडकको दायाँतिर विश्वकप फुटबलमा सहभागी ३२ देशका राष्ट्रिय झन्डाको रङमा कंक्रिटका ठुल्ठूला फुटबल सजाइएका छन् । बत्तीको खम्बामा फिफा विश्वकप र कतार विश्वकप लेखिएका झन्डा फहराइएका छन् । सडकमा गुडेका सार्वजनिक बस र हालै सञ्चालनमा ल्याइएका मेट्रो (रेल) विश्वकपकै लोगो र फुटबलसम्बन्धी तस्बिरले रंग्याइएको छ । दोहाका मुख्य स्थानहरूमा दर्शकलाई रंगशालाबाहिरै फुटबलको माहोल दिलाउन ‘फ्यान जोन’ बनाइएको छ । ‘फ्यान फेस्ट’ का लागि स्थान तोकिएको छ ।
सडकमा झिलिमिली गेटहरू बनाइएको छ । साँझको समयमा सडक र सहरका मुख्य स्थललाई विद्युतीय माध्यमबाट रंगीन बनाइएको छ । विश्वकपका खेल हेर्न विभिन्न देशबाट आएका दर्शक घाम ढल्किँदै जाँदा सडक र रंगशाला बाहिर बाजागाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् । कतारको माहोललाई विश्वकपले खुबै तताएको छ । २२ औं संस्करणको उद्घाटनमा आइतबार कतार र इक्वेडर भिड्दै छन् ।
दोहामा व्यवसाय गरिरहेका नेपाली श्याम भुसालले भने, ‘कतारले यही विश्वकपका लागि हो १२ वर्षयता धेरै मिहिनेत गरेको । हामीले यत्तिका वर्ष नदेखेको परिवर्तन अहिले छोटो समयमै देखेका छौं । कतारको पूरा माहोल फुटबलमय भएको छ ।’ १६ वर्षअघि कतार आएका उनको कम्पनीले पनि विश्वकप रंगशालाको एक आयोजनामा काम गरेको छ । कतार विश्वकपको ९२ वर्षे इतिहासमा क्षेत्रफलको हिसाबले सबैभन्दा सानो आयोजक पनि बनेको छ ।
एसियामा दोस्रोपल्ट हुन लागेको विश्वकप विवादरहित भने छैन । कतारले चौथो चरणसम्म चलेको मतदानमा अमेरिकालाई उछिनेर सन् २०१० मा आयोजकबारे निर्णय गर्ने मताधिकारप्राप्त पदाधिकारीलाई घूस दिएको आरोप छ । कतारमा विश्वकप ल्याउन मुख्य भूमिका निर्वाह गरेका मोहमद बिन हमाम (एसियाली फुटबल महासंघका पूर्वअध्यक्ष) फुटबल गतिविधिमा आजीवन प्रतिबन्धमै परेका छन् ।कतारले विश्वकप आयोजना अधिकार पाएपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नेतृत्व र विश्व फुटबलमा ठूलै उथलपुथल भयो ।
फिफा अध्यक्ष भएकै बेला सेप ब्लाटर भ्रष्टाचारको अभियोगमा प्रतिबन्धमा परे, थुप्रै उच्च पदाधिकारी र अधिकारीमाथि प्रतिबन्ध सुनाइयो, जेल सजाय भयो । श्रमिकलाई उचित ज्याला र सुरक्षा नदिएको, बस्नका लागि राम्रो व्यवस्था नगरेको, श्रमिकलाई न्यूनतम अधिकार नदिएको जस्ता चर्को आरोप कतार सरकारले खेपिरहेको छ । कतारमा समलैंगिकतालाई बन्देज गरिएको छ । त्यसैले केही पूर्वखेलाडी, अधिकारकर्मी, संगठन र सरकारले विश्वकपलाई बहिष्कार गर्ने घोषणा नै गरेका छन् । विशेषगरी युरोपबाट कतारको चर्को विरोध भइरहेको छ ।
तर, विश्वकपका टिकट बिक्री खुला गर्दा भने तुरुन्तै ‘सोल्डआउट’ भएको थियो । बिक्री गरिएका २९ लाख टिकटमध्ये सबैभन्दा बढी खरिद गर्नेमा कतारीपछि अमेरिकी छन् । कतारसँग चिसो सम्बन्ध रहेको छिमेकी साउदी अरेबिया तेस्रोमा पर्छ । तेल र प्राकृतिक ग्यासको बिक्रीबाट धनाढ्य बनेको कतारको प्रतिव्यक्ति आय नै १ लाख १३ हजार ६ सय ७५ अमेरिकी डलर छ । अरबमा को शक्तिशाली भन्नेमा कतार र साउदीको चर्को होड छ । वास्तवमा कतार सन् २००६ को एसियाली खेलकुद आयोजना गरेपछि संसारलाई समृद्धि देखाउने होडमा अगाडि बढेको हो । उसले सन् २०३० मा पनि एसियाड आयोजना गर्दै छ ।
साउदीको रियादमा २०३४ को एसियाड हुँदै छ । यी दुवै देश कसले पहिले ओलम्पिक खेलकुद आयोजना गर्ने प्रतिस्पर्धामा छन् । चार–चार वर्षमा आयोजना गरिने विश्वकपको कतार संस्करणका लागि भएको छनोट कोभिड–१९ महामारीले पनि प्रभावित भयो । युक्रेनमाथि आक्रमण गरेकाले रुसलाई छनोटबाटै हटाइयो । क्यानडा ३६ वर्षपछि विश्वकपमा फर्कियो भने वेल्स ६४ वर्षपछि विश्वकप खेल्न योग्य भयो । युरोपेली च्याम्पियन तथा चारपल्टको विश्वकप विजेता इटाली त छनोटमै असफल भयो ।






