नेपालगन्ज । ‘नेपालगञ्ज भन्ने बित्तिकै कि वागेश्वरी मन्दिर कि त खुला सिमा नाका भनेर चिनिथ्यो तर अब हाम्रो नेपालगञ्ज म्याराथनको शहरले चिनिनेछ ।’ यो भनाई हो नेपालगन्ज उप महानगरपालिका प्रमुख प्रशान्त विष्टको । आठौं धारा नेपालगन्ज म्याराथानले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख विष्टले नेपालगञ्ज भन्ने बित्तिकै वागेश्वरी मन्दिर या खुला सिमानाको नामबाट चिनिंदै आई रहेको बताउँदै अबका दिनमा अन्तराष्ट्रिय जगतमा नेपालगञ्ज म्याराथनको नामले चिनिने बताएका थिए ।
हरेक वर्ष आयोजना हुने नेपालगन्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर २४ गते शनिबार हुने भएको छ । नेपालगन्ज म्याराथनले यसबर्ष आफ्नो पुरस्कार राशीमा बृद्धि गरेको छ । आठौं धारा नेपालगन्ज म्याराथनले यसबर्ष फुल म्याराथन प्रथम हुनेलाई १ लाख ५० हजार, दोश्रोलाई ६० हजार, तेश्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौलाई १० हजार, छैठौंलाई ८ हजार, सातौलाई ७ हजार र छैठौंलाई ६ हजार नगद सहित पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
हरेक वर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर विष्टले नेपालगन्ज उपमहानगर नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार रहेको बताए । उनले भने,‘नेपालगञ्जलाई म्याराथनको शहर भनेर अन्तराष्ट्रिय स्तरमा चिनाउनकालागि उपा महानगरपालिकाले पुरै जिम्मेवारी लिएर अभिभावकत्व निभाउनका लागि तयार छ ।
आठौं संस्करणमा हुन गई रहेको म्याराथनलाई सफल बनाउन आर्थिक, सामाजिक, भौतिक सबै कुराहरुमा सहयोग गर्न उपमहानगरपालिका तयार छ ।’ यस वर्ष नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) ले प्रमाणीकरण गरेको छ । हरेक खेलाडीका लागि अब नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहनेछ ।
यो नेपालगन्जका लागि, लुम्बिनी प्रदेशका लागि र नेपालका लागि उपलब्धिमुलक रहनेछ । गत वर्ष झैं यस वर्ष पनि बिभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिनेछ । कर्पोरेटतर्फ महिला यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन (४२.१९५किमी) महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।
नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले पत्रकार सम्मेलन मार्फत नेपालगन्ज म्याराथनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको बताएका थिए । उनले भने,‘म्याराथनको शहर भनेर नेपालगञ्जलाई चिनाउनु छ । आठौं संस्करणको म्याराथन हुन गईरहेको हुनाले यसलाई सभ्या र भब्य रुपमा सम्पन्न गर्न तपाईंहरुको स्नेह, साथ र सहयोगको अपेक्षा राखेको छौं । सबैको सहयोगले नै आजसम्म नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको छ । यसको सम्पुर्ण श्रेय सरोकारवालालाई दिन चाहन्छौं ।
नेपालबाट नेपालगन्ज म्याराथनले एम्सबाट सदस्यता प्राप्त गर्न सफल भएर एम्सको क्यालेण्डर र डाइरेक्टरीमा सुचिकृत हुनु पनि हाम्रोलागि गौरवको कुरा हो ।’ नेपाल सरकार र विद्रोही माओबादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आई रहेको आठौं म्याराथनको तयारी द्रुत गतिमा अगाडि बढेको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ ।






