नेपालगञ्ज । नेपालन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले नेपालगन्ज म्याराथनलाई थप उचाइमा लैजान आफु प्रतिबद्ध रहेको बताएका छन् । पर्यटक गन्तब्यको रुपमा नेपालगञ्ज बन्न सक्ने सम्भावना भएको हुनाले यस्तो ठाउँमा नेपालकै पहिलो एम्स सर्टिफाइड म्याराथन बन्न सफल भएकोमा आफुलाई निकै नै खुशी लागेको बताउँदै प्रमुख बिष्टले नेपालगन्ज म्याराथन सहरको परिचय भएको हुँदा यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन उपमहानगरपालिका तयार रहेको बताए ।
नेपालगञ्जलाई चिनाउनकालागि म्याराथनको भूमिका सह्रानिय भएको बताउँदै आफुलाई यो कुराले गौरवको अनुभुति गराएको प्रमुख विष्टको भनाई छ । उनले भने,‘यस्ले हाम्रो नेपालगञ्जलाई अन्तराष्ट्रिय स्तरमै चिनाउनमा मद्यत गर्ने भएको हुनाले यस कुरामा म निकै नै गौरवान्वित भएको छु । आर्थिक, नैतिक र प्राविधिक लगाएत अन्य पक्षमा साझेदारी गर्न उपमहानगरपालिका तयार छ । यो मेरो प्रतिबद्धता हो ।’ उनले भने, ‘म्याराथनलाई सामान्य दौडका रुपमा मात्र लिएको थिएँ, तर यसको दायरा निकै फराकिलो रहेछ, सम्भावना रहेछ, हामी हरेक पाटोमा साझेदारी गर्न तयार छौं ।’
केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले टाइटल स्पोन्सरका रुपमा धारा तेलको साझेदारीलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताए । ‘हामीले उत्पादनको बजारी प्रवद्र्धनका कारण मात्र जोडेका छैनौं, आयोजकले स्तरोन्नति गर्दै गएको हुँदा हरेक सुखदुखमा साथमा रहेका छौं ।’ उनले अगाडी थपे,‘नेपालगन्ज म्याराथनको सहयात्रा निरन्तर दिने सोंचमा छौं ।’
सोमबार नेपालगञ्ज स्थित वेष्टर मार्टमा गरिएको पत्रकार भेटघाटमा सहप्रायोजक शिखर प्लाईका प्रबन्ध निर्देशक चम्पालाल बोथराले धारा नेपालगन्ज म्याराथनको चर्चाले नेपालगन्जको प्रतिष्ठा बढेको अनुभुति हुने भएकाले आफुले सहयात्रालाई निरन्तरता दिइरहेको चर्चा गरे । शिखर प्लाई आजैदेखि वैदेशिक निर्यात हुँदै गरेकोमा खुशी हुँदै उनले भने–‘मेरो २६ बर्षदेखि सपना आज पुरा भएको छ, नेपाली उत्पादन निर्यात गर्दै छौं । धारा नेपालगन्ज म्याराथन पनि हरेक बर्ष स्तरोन्नति भइरहेको छ । यसमा गौरव छ ।’
यसबर्ष बिभिन्न ११ वटा विधाका स्पर्धा समावेश गरिएको छ । कर्पोरेट रनतर्फ महिलालाई यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।
नेपालगन्ज म्याराथनमा ४२।१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) ले प्रमाणीकरण गरेको छ । हरेक खेलाडीका लागि संसारका प्रतिष्ठित म्याराथनमा भाग लिन नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहने आयोजकले जनाएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ ।
होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका लगायत जिल्लाका स्थानीय तहहरु, लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद महत्वपुर्ण साझेदारका रुपमा रहेका छन् ।
आठौं धारा नेपालगन्ज म्याराथन मंसिर २४ गते शनिबार हुनेछ । हरेक बर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो । उपमहानगरपालिका प्रमुख बिष्ट, धाराका सिइओ छाजेड, शिखर प्लाईका प्रबन्धनिर्देशक बोथरा र नेपालगन्ज म्याराथन संस्थापकरअध्यक्ष टीएस ठकुरीले टिसर्ट सार्वजनिक गरे ।






