काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी ओलीलाई विरोधपत्र बुझाएको छ । विरोधपत्र बुझाउन प्रधानमन्त्री ओलीले समय नदिएको भन्दै अनेरास्ववियुका सह–संयोजक रञ्जीत तामाङले सिंहदरबार अगाडि आयोजित धर्नापछि प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको विरोधपत्र सार्वजनिक गरेका हुन् ।
तामाङले प्रतिनिधिसभा असंवैधानिक भएको र त्यसपछि प्रधानमन्त्रीले चालेका हरेक कदम असंवैधानिक भएको भन्दै विरोधपत्र बुझाउने तयारी गर्दा समय नपाएकाले मिडियामार्फत् विरोधपत्र सार्वजनिक गर्नु परेको बताए । विरोधपत्रमा प्रधानमन्त्रीले भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई संरक्षण गरेको भन्दै आपत्ति जनाइएको छ ।
‘जनतामा जतासुकै काला बादलहरु मडारिएका छन् । यतिबेला देश रोइरहेको छ, तपाई विभिन्न खाले प्रहसन देखाउन मस्त हुनुहुन्छ । तपाईंले भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्नुभयो । तर, भ्रष्टाचारमा चुरलुम्म डुबेर गनाएर बदनाम भएका पात्रलाई निरन्तर संरक्षण गरिरहनुभयो’, विरोधपत्रमा भनिएको छ, ‘यति प्रकरण, बालुवाटार जग्गा प्रकरण, वाइडबढी प्रकरण आदि सबैमा तपाईको प्रष्ट देखिनेगरीको संरक्षकत्व रहयो ।’
सिंहदरबार गेटमा विद्यार्थीहरुले ‘हामी केही जान्दैनौँ, संसद् विघटन मान्दैनौँ’ भन्ने नारा लगाएका थिए । विरोधपत्र सार्वजनिक गर्दै तामाङले आफ्नो भोटबाट प्रधानमन्त्री बनेका ओलीले असन्तुष्टि सुन्ने धैर्यता नगरेको भन्दै अब प्रधानमन्त्री नै नमान्ने बताए । उनले अनेरास्ववियुले अब मन्त्री सरकारी गाडी चढे त्यो तोडफोड गर्ने चेतावनीसमेत दिए । ‘राज्यको करबाट तेल भरेर मन्त्री सरकारी गाडी चढे त्यो तोडफोड गर्छौँ’, तामाङले भने ।






