काठमाण्डौ । कोरोनाको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार यो हप्ता बेलायतमा दुई र अल्जेरियामा एक जना नेपालीको सङ्क्रमणका कारण ज्यान गएको हो ।
योसहित २१ देशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन सय ३३ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
तीमध्ये ५६ हजार दुई सय ४७ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।समितिका अनुसार यो हप्ता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।






