काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेसँगको बयान भएको हो । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मङ्गलबार सन्दीपको बयान भएको हो ।
नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले हिजो सोमवार अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्र दायरपछि अदालतमा आज सन्दीपको बयान भएको हो । सन्दीपसँग बयान लिने काम सकिएकाले बुधवारबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताए । उनले आज नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला सुरु भएको जानकारी दिए ।
उनले सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएको बताए । उनले किशोरीको बयान शङ्कास्पद रहेकाले किशोरीको जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने स्पष्ट पारे ।
उनले भने, ‘प्रहरीले नै ढिला ल्याउने काम गर्यो, त्यसकारण नै ढिला सुरु भयो । बत्ती गएका कारण पनि केही बाधा आयो । आज बयान सकियो । थुनछेक बहस हुन पाएन, भोलिबाट थुनछेकको बहस सुरु हुन्छ ।
जबरजस्तीकरणीको अभियोग मप्रति बदनियतका साथ कसैको उक्साहटमा लगाइएको छ, जुन अभियोग झुटो हो भनेर बयान गर्नुभएको छ र आफ्नो इन्कारी बयानलाई पुष्टि हुने विभिन्न किसिमका प्रमाणहरू पनि पेस गर्नुभएको छ । प्रमाण भनेको पीडित भनेको व्यक्तिको हकमा जन्मदर्ताको विषयवस्तु । जन्मदर्ताका प्रमाण केही भेटिएका छन् । बयान प्रमाणित हुन पाएको छैन, आज श्रीमान् चाँडै निस्किएका कारणले ।
पीडितले अनुसन्धानको क्रममा एउटा कागज दिनुभएको छ । उक्त कागजमा भएको ब्यहोरामा डाक्टरहरुको समूहमा स्वास्थ्य परीक्षण गराउनुभएको छ, त्यहाँ दिनुभएको केस हिस्ट्रीको विषयवस्तु, अलिकति फरक देखिन्छ । त्यो बिरोधाभाषपूर्ण छ । नागरिकतालाई प्रमाण मान्ने की जन्मदर्तालाई भन्ने विषयवस्तु नै मुख्य विषयवस्तु छ ।’ सन्दीपमाथि गत भदौ ५ मा काठमाडौँको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।






