काठमाडौ । मृत्त फेला परेकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टले घटनाको दिन भारतीय सीम कार्ड प्रयोग गरेको खुलेको छ । भागरथीको शवसँगै भेटिएको मोबाइलमा भारतीय सीम कार्ड फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
प्रहरीका अनुसार भारतीय सीम कार्ड उनका दाईले भारत बसेर फर्कँदासँगै ल्याएको र उनले प्रयोग गर्दै आएको नेपाली सिमकार्ड घटना भएको दिन घरमा नै फेला परेको छ । प्रहरीले फेला घटनास्थलमा फेला परेको मोबाइल र नेपाली सीमकार्ड दुवैको डाटा ‘रिकभर’ गरिने प्रहरीले जनाएको छ । मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गरिरहेको हो ।
भागीरथी केसमा घटनास्थलको अध्ययन गर्न डिआइजी आफै फिल्डमा खटेका छन् । एसएसपी सिंहले सीमकार्ड भारतीय भएकोले थप अनुसन्धानका लागि भारतीय प्रहरीको सहयोगमा कल डिटेल निकाल्न आवश्यक पहल लिएको बताए । दोगडाकेदार क्षेत्र सीमा नाका नजिक भएकाले भारतीय नेटवर्कले काम गर्ने गरेको छ। सोही कारण त्यहाँका अधिकांश स्थानीयले भारतीय सीमकार्ड प्रयोग गर्ने गरेका छन् ।
बुधबार सनातन धर्म उच्चमाविमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय भागरथी स्कुलबाट फर्कने क्रममा हराएकी थिइन् । बिहीबार उनी पढ्ने विद्यालयबाट करिब ३ किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो । उनको ह’त्यामा संलग्न आरोपीहरु अहिलेसम्म प’क्रा’उ परेका छैनन् । यस विषयमा सुक्ष्म रुपमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर जनक धानीले बताए ।






