रुपनी जि.एम, बर्दिया । ‘हामी आदिबासी जनाजाति, दलित, मधेशी, मुस्लिम लगाएत अन्य राज्यद्धारा पछाडि पारिएका विभिन्न जाति र समुदायहरुले अब देशमा जातिय पहिचानको मुद्यालाई राजनीतिको मुल मुद्या बनाएर अघि बढ्न आवश्यक छ । यिनै विषयहरुलाई समाजमा रुपान्तरण गर्नका लागि राजनीतिमा लागेको हुँ ।’ यो भनाई हो पुर्व कान्तिपुरकर्मी ठाकुर सिंह थारुको ।
उनी भन्छन्,‘पत्रकारीताको माध्यमबाट हामीले केवल राज्यका विभिन्न निकायलाई झकझक्याउन सक्छौं, जनताका आवश्यकतालाई परिपुर्ती गर्दै समाज रुपान्तरणका लागि त नीति निमार्ण बनाउन जरुरी छ । र त्यसका लागि राजनीति नै गर्नु पर्ने रहेछ । यही कुरालाई महसुस गरेर झण्डै ३ दशक पुग्नै लागेको पत्रकारीताबाट राजीनामा दिंदै राजनीतिमा लागेको हुँ ।’
सात वर्ष पहिला ०७२ सालमा टिकापुरको घटनाले जन्माएको ‘नागरिक उन्मुक्ति पार्टी’ मा तत्कालै प्रवेश गरेका पुर्व कान्तिपुरकर्मी आगामी मंसिर ४ गते हुन गई रहेको निर्वाचनका लागि बर्दिया क्षेत्र नं. १ बाट संघिय निर्वाचनका लागि उम्मेदवार बनेका छन् । उनको भनाई अनुसार कांग्रेस, एमाले र माओबादीले विशेष गरेर पहिचानको मुद्यालाई राष्ट्रिय मुद्या बनाउन नसकेको हुनाले ‘नागरिक उन्मुक्ति पार्टी’ को माध्यमबाट राजनीतिमा लागेका हुन् ।
पुर्व पत्रकार थारुले हिमालय न्यूज हबसंग कुरा गर्दै समाज परिवर्तन र जातिय पहिचानका मुद्याहरु पत्रकारीताबाट सम्भव नभएको बताउँदै सम्भवका लागि एउटा विकल्प भनेको केवल राजनीति भएको हुँदा अबको यात्रा राजनीतिको दिशाबाटै निरन्तर अघि बढ्ने बताए । उनले देशलाई निकास दिनकालागि विकासको आवश्कता रहेको बताए ।
तीन ठूला दलहरुले विकास भन्ने बित्तिकै जनतामा केवल बाटो बनाउने, पुलपुलेसा निमार्ण गर्ने र मठमन्दिर बनाई दिने भ्रम श्रृजना गरि दिएका छन् । यी कुरा आवश्यक हो । तर यिनै कुराहरुलाई राजनीतिको मुद्या बनाउँदै जनतालाई सधैं भ्रमित गर्न नपाईने उनको भनाई छ । उनी भन्छन्,‘के बाटो, पुल पुलेसा र मठमन्दिर मात्रै विकासका विषय हुन् त ? म त भन्छु यि केवल आधारभूत आवश्यकता मात्र हुन् । विकास त मान्छेले जानेको सिपलाई बजारीकरण गर्नु हो ।’
‘नागरिक उन्मुक्ति पार्टी’ का उम्मेदवार ठाकुुर सिंह थारुको भनाई अनुसार समूदायले जानेको सीपलाई नै मान्यता दिएर उक्त सीपलाई राष्ट्रिय मुद्या बनाउनु नै विकासको गीतलाई अगाडी बढाउनु हो । तर राष्ट्रिय स्तरका नेताहरुले विकासका नाममा जनतालाई केवल भ्रममा राखेको बताए । नेताको भ्रममा नपर्न उनले बर्दिया क्षेत्र नं. १ का जनतालाई आग्रह समेत गरेका छन् ।
गठबन्धन र नेकपा एमाले जस्तो ठूूला दलका उम्मेदवारहरुसंग प्रतिस्पर्धा गर्न तम्तयार भएका ठाकुर सिंह थारुले मुख्य प्रतिस्पर्धिका रुपमा गठबन्धनलाई नै लिएका छन् । उनले नेकपा एमालेलाई प्रतिस्पर्धि नमानेको बताए । यसका साथै उनले स्वतन्त्रबाट र अन्य पार्टीका उम्मेदवारलाई समेत प्रतिस्पर्धी नमाएको स्पष्ट पारे ।
‘गठबन्धन आफैमा एउटा ठुलो दल हो । त्यसमा पनि नेपाली कांग्रेस र नेकपा माओबादी जस्ता ठूला दलहरु एकै ठाउँमा मिलेका छन् । उनीहरुसंग अन्या साना दलहरुको पनि साथमा भएको हुनाले मेरो प्रतिस्पर्धा गठबन्धनसंग नै हुनेछ ।’ उनले बताए ।
पत्रकारीताबाट संघर्ष गर्दै राजनीतिमा प्रवेश गरेका उनले निर्वाचनको खर्च कसरी व्यवस्थापन गरेका छन् भन्ने विषयमा कुरा गर्दा उनी भन्छन्,‘चुनाव जीत्नकालागि पैसा हैन ग्रामिण क्षेत्रका जनताको साथ चाहिन्छ ।
चुुनावमा अरु नेताले जस्तो मैले १०÷५ हजार दिएर जनतालाई भ्रमको ललिपप दिन सक्दिन र चाहादिन पनि । मैले दिने भनेको मेरो गाउँघरमा आफ्नो श्रम गरेर बाँचि रहेका किसानलाई उनीहरुको श्रमको एजेण्डा दिने हो । त्यही एजेण्डाले नै ग्रामिण स्तरबाट विकासको मूल फुटाउने हो । यीनै कुराहरु हामीले अभियानका दौडानमा जनतालाई सचेत गराई रहेका छौं । र यो निर्वाचनमा जनता सचेत हुनेछन् ।’
पुर्व पत्रकार ठाकुर सिंह थारु पत्रकारीतामा उत्तिकै अब्बल पत्रकारीता गर्ने पत्रकारका रुपमा चिनिन्छन् । उनको स्थाई ठेगाना बर्दिया भएतापनि पेशागत रुपमा उनको पत्रकारीता भने बाँकेबाट शुरु भएको थियो । पत्रकारीतामा उनको शुरुवात नेपालगञ्ज एक्सप्रेस भन्ने दैनिक पत्रिकाबाट भएको थियो । त्याहाँ काम गर्दागर्दै उनले वागेश्वरी पोष्टमा पनि केही समय काम गरे ।
एकैठाउँमा काम गर्दा अनुभवको दायरा फराकिलो नहुने सोंच भएका उनले नेपालगञ्ज एक्सप्रेस र वागेश्वरी पोष्टलाई पनि छाडेर टुडे नेपालमा लेख्न थाले । त्यहाँपनि उनले केही समय काम गरे तर फेरी हाम्रो संरचनामा कलम चलाउन शुरु गरे । लेखन शैलीको राम्रो विकास गर्दै गईरहेका ठाकुर सिंह थारुले विस्तारै फड्को मार्दै गई रहे ।
उनले मध्यपश्चिम दैनिकमा उपसम्पादक हुँदै सम्पादकको भूमिका पनि निभाए । उनको भनाई अनुसार त्यसपछि उनले राष्ट्रिय स्तरको पत्रकारीतामा काम गर्ने मौका पाए । उनले नयाँ पत्रिका दैनिकमा काम गर्न शुरु गरे । नयाँ पत्रिकामा उनले झण्डै ५ वर्ष काम गर्दा बाँके र बर्दिया दुबै जिल्लाको जिम्मेवारी सम्हालेका थिए । यसरी जिल्लाबाट निस्कने दैनिक पत्रिकाबाट शुरुवात गरेको उनको पत्रकारीता अन्ततः देशकै ठूलो मानिने कान्तिपुरमा राष्ट्रिय दैनिकमा गएर विश्राम लाग्न पुग्यो ।
पत्रकारीतामा राम्रो दखल राख्ने ठाकुुर सिंह थारु अधिवक्ता पनि हुन् । तर उनी अहिले जातिय पहिचानको मुद्यालाई आत्मा साथ गर्दै ‘नागरिक उन्मुक्ति पार्टी’ मा राजनीति गर्न आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय छन् ।






