रुपनी जि.एम, बर्दिया । सालिकराम अधिकारी यो नाम बर्दियाका जनताकालागि चिरपरिचित नाम हो । सालिकराम भन्ने बित्तिकै बर्दियाको बाँसगढी नगरपालिकाको मेयर भनेर सहजै चिनिन्छन् । यसका साथै उनी नेकपा एमालेको एउटा बलियो खम्बाका रुपमा पनि चिनिन्छन् । उनी ०७४ सालको स्थानिय निर्वाचनबाट निर्वाचित जनप्रतिनीधि भएका थिए । उनै सालिकराम अधिकारी यही मंसिर ४ गते हुन गईरहेको प्रदेश सभा सदस्यकालागि बर्दिया क्षेत्र नं. १ को (क) बाट प्रत्यक्ष तर्फका उम्मेदवार बनेका छन् । उनले आफ्नो क्षेत्रको विकासको निम्ति अर्जुन दृष्टि बनाएका छन् ।
अघिल्लो पटकको ०७४ सालको स्थानिय तहको निर्वाचनको निम्ति पुर्ण रुपले आकांक्षि रहेका सलिकराम अधिकारी यस पटक मंसिर ४ गते हुन गई रहेको निर्वाचनको निम्ति सहकर्मी र पार्टीपंतिबाट आकांक्षित उम्मेदवार बनेका हुन् । विगत लामो समयदेखि पार्टी र संगठनकालागि पुर्याएको योगदान र उनको संघर्षको उच्च मूल्यांकन गर्दै उनलाई नेकपा एमाले बर्दियाले प्रदेशसभा सदस्यकालागि योग्य ठानेर बर्दिया क्षेत्र नं. १ को (क) बाट प्रत्यक्ष तर्फको उम्मेदर बनाएको छ । आगामी मंसिर ४ गते हुन गई रहेको प्रदेश निर्वाचनमा उनलाई पार्टीले नै उम्मेदवारकालागि हौसला र प्रेरणा दिएको उनको भनाई छ ।
आफ्ना समकक्षिहरुको उत्साहा, प्रेरणा र पार्टी पंतिबाट गरिएको विश्वासकै कारण आसन्न निर्वाचनमा प्रदेश सभाकालागि उनी उम्मेदवार भएका छन् । अबको उम्मेदवारी बर्दिया क्षेत्र नं. १ (क) मा पर्ने बढैयाताल र बाँसगढीको विकासकालागि भएको बताउने सालिकरामको राजनीतिक यात्रा भने सुर्खेत जिल्लाबाट शुरु भएको हो । प्रोजेक्टको जागिर खान सुर्खेत पुगेका सालिकरामले ०५०÷०५१ सालतिर सोही ठाउँमा नै अखिलको राजनीति गर्ने मौका पाए । उनले अखिलको जिल्ला कमिटिको सचिव भएर काम गरे ।
संगठनमा रहेर जिम्मेवारीका साथ कार्यकाल सम्हालेका सालिकरामले अध्यक्ष भएर पनि आफ्नो जिम्मेवारीलाई सम्हालेका थिए । संगठनमा काम गरिसकेका उनले पार्टी सदस्यता भने ०५१ सालमै सुर्खेतबाट प्राप्त गरेका थिए । यसरी उनी पार्टी कमिटिमा आवद्ध भएर काम गर्दै जाँदा बर्दियामा ०५४ सालमा पार्टी विभाजन भएर माले र एमाले बन्दा पनि उनी भने एमाले मै रही रहे । पार्टी बिभाजन भए लगत्तै सालिकरामले सुर्खेत छाडेर बर्दिया फर्किए र उनले जिल्ला कमिटि सदस्य भएर आफ्नो जिम्मेवारीलाई सम्हाल्दै आए ।
पार्टीप्रति उनको आस्था उनले पुरा गर्ने जिम्मेवारी र इमानदारीताकै कारण उनलाई पार्टीले नै २ कार्यकाल जिल्ला कमिटिको सचिव बनायो । अहिले उनी नेकपा एमाले बर्दिया जिल्ला कमिटिको उपाध्यक्ष छन् । उनको यो दोश्रो कार्यकालको जिम्मेवारी हो । स्नातक तहसम्मको शैक्षिक योग्यता हासिल गरेका सालिकरामले अगाडीको पढाई राजनीतिले गर्दा पुरा गर्न सकेनन् । मध्यम वर्गिय परिवारका उनी घरमा सबैभन्दा जेठा हुन् । बुुवा बुद्धि प्रसाद अधिकारी र आमा गंगादेवी अधिकारीको जेठो सुपुत्रका रुपमा जन्मिएका उनको पारिवारिक राजनीतिक वातावरण पनि एमालेकै पृष्ठभूमिमा केन्द्रित रह्यो ।
उनको भनाई अनुसार ०४७ सालमा बर्दियामा पार्टी सदस्य लिने लहरमा उनका बुवाआमाले पनि लिएका थिए । राजनीति यात्रा शुरु गरेदेखि उनले राजनीतिमा कहिल्यैपनि निराश हुनु परेको छैन । ०७४ सालको स्थानिय निर्वाचनमा बर्दिया बाँसगढी नगरपालिकाको मेयर भएर काम गर्दाको समयमा उनले धेरै विकासका कामहरुलाई पुर्णता दिएका छन् भने धेरैको जग बसालेका छन् । साथै उनले विकासकालागि दिर्घकालिन् योजनाका खाकाहरु बनाएका छन् जस्लाई कोभिड जस्तो महामारीले गर्दा पुर्णता दिन भने सकेनन् । त्यो कुरा आजपनि उनको मनमा खड्कि रहेको उनी बताउँछन् ।
बाँसगढी नगरपालिकामा उनले पुरा गर्न नसकेका कामहरुलाई प्रदेश सभा सदस्य भएर पुरा गर्ने उद्येश्यले नै उनी उम्मेदवार भएको प्रष्ट पारे । मेयरमै पुनहः दोहोरिएर अधुरा रहेका विकासका कामहरुलाई पुरा गर्न उनलाई चौतर्फी सुुझाव आएको बताएका सालिकरामले अरुलाई अवसर दिनुपर्छ भन्ने मान्यतालाई अघि सार्दै सोही पदमा नदोहोरिएकोे बताए । उतिबेला मेयरको जिम्मेवारी सम्हाल्दै गर्दा प्रदेश र संघिय सरकारसंग जोडिएर बनाएको सम्बन्धका आधारमा जनताको अपेक्षा, नगरभित्रका विकासका काम गर्नका लागि श्रृजना गरिएका आधारहरु जसरी उनले बनाए ।
सरकारलाई नीति निमार्ण तहमा उचित सल्लाह दिन सक्ने र जनताको समग्र विकासका सन्दर्भमा र कार्यक्रमको सन्दर्भमा भने बढी जोड गर्न सक्छु भन्ने आत्माविश्वासले बर्दिया क्षेत्र नं. १ (क) को विकासका निम्ति आफ्नो जीत आवश्यक रहेको उनको भनाई छ । नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवार भुवनेश्वर चौधरी उनका प्रतिस्पर्धी भएपनि सालिकरामले भने भुवनेश्वरलाई हराउँदै सहजै जीत हाँसिल गर्ने विश्वास व्यक्त गरे ।






