पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको भारत्तोलन प्रतियोगितामा नेपाल प्रहरीकी जुनमाया छन्त्यालले नयाँ राष्ट्रिय कीर्तिमान बन्दै स्वर्ण पदक जीतेकी छन् । मंगलबार पोखरा उद्योग वाणिज्य संघको हलमा भएको उक्त खेलमा महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण पदक जितेकी हुन् ।
उनले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै कीर्तिमान तोडेकी हुन् । क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १ सय ६७ केजी उठाउँदै जुनमायाले स्वर्ण पदक जितेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । राष्ट्रिय खेलकुद परिषदका अनुसार एपिएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल १ सय १७ केजी बहन गर्दै रजत पदक जित्न सफल भएकी हुन् ।
यस्तै नेपाल प्रहरीकी सरस्वती पुरीले कुल १ सय १५ केजी भार बहन गर्दै कास्य पदक जीतेकी हुन् । उनले नले स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाएकी थिईन् । यसैगरी, मंगलबार नै सम्पन्न महिला ६४ केजीतर्फ नेपाल आर्मीले स्वर्ण हात पार्न सफल भएको परिषदले जानकारी गराएको छ । आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १ सय ४७ केजी भार बहन गर्दै आर्मीलाई चौंथो स्वर्ण दिलाउन सफल भएको परिषदले जानकारी दिएको छ ।
यस्तै, नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १ सय २८ केजी भार गर्दै रजत पदक जित्नुभएको छ भने नेपाल आर्मीको प्रशंसा पुनले कास्य जित्न सफल भएको परिषदले जनाएको छ । उहाँले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल १ सय १८ केजी भार बहन गरेकी थिईन् । पुलिसले ५ स्वर्ण, आर्मीले ४ र सुदूरश्चिमले १ स्वर्ण आफ्नो पक्षमा हातपार्न सफल भएको बताउदै प्रतियोगिताको हालसम्मको नतिजामा पुलिस पदक तालिकाको शीर्ष स्थानमा रहेको परिषदले जानकारी गराएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भारत्तोलनतर्फ २० स्वर्णसहित कुल ६० पदकको लागि प्रतिस्पर्धा भइरहेको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ ले जानकारी दिनुभयो । परिषदको अनुसार कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०–१० इभेन्टमा खेल हुनेछ भने प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् ।






