गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा चलिरहेको बुद्धिचाल प्रतियोगिताको ुक्लासिकलु राउन्डको महिलातर्फ सुजना लोहनीले स्वर्ण पदक जितेकी छिन् । महिलातर्फ नौ वटै खेलमा अपराजित रहँदै त्रिभुवन आर्मी क्लबकी लोहनीले स्वर्ण जितेकी हुन् ।
त्रिभुवन आर्मीकै सिन्दिरा जोशीले ७ दशमलव ५ अंक प्राप्त गर्दै रजत पदक र प्रदेश १ की खुश्बु थापाले ६ दशमलव ५ अंक प्राप्त गर्दै कास्य पदक जितेकी छिन् । गोरखा क्याम्पसमा भइरहेको बुद्धिचालअन्तर्गत ‘क्लासिकल’ खुलातर्फको खेल भने विवादमा परेको छ ।
खुलातर्फ गैरआवासीय नेपाली संघका आशिष फुयाँलले ७ दशमलव ५ अंक प्राप्त गरेर स्वर्ण पदकको हकदार बने पनि आयोजकले अन्तिम नतिजा सार्वजनिक गरेको छैन । प्रदेश १ को खेलकुद विकास बोर्डले गैरआवासीय नेपाली संघबाट खेलिरहेका आशिषसहित केही खेलाडीलाई मापदण्ड विपरीत सहभागी गराइएको भन्दै आज सोमवार उजुरी गरेपछि खुलातर्फको नतिजा अन्योलमा परेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यविधिमा गैरअवासीय नेपाली संघबाट खेल्ने खेलाडीहरू प्रतियोगितामा सहभागी हुन १ सय ८० दिन विदेशमा बसेको हुनुपर्ने भए पनि फुयाँल मापदण्ड विपरीत सहभागी गराइएको प्रदेश १ को खेलकुद विकास बोर्डको दाबी विरोधमा उल्लेख छ ।
मापदण्ड विपरीत सहभागी भएका खेलाडीले प्रदेश १ का खेलाडीसँग खेलेका खेलको नतिजा आफ्ना खेलाडीको पक्षमा हुनुपर्ने पनि दाबी विरोधमा उल्लेख छ । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बुद्धिचाल प्रतियोगिताका संयोजकलाई सम्बोधन गर्दै पेस गरेको दाबी विरोधबारे आयोजकले कुनै निर्णय गरिसकेको छैन ।






